
नेपालगन्ज । नेपालगन्जमा रहेको एक चुराको गोदाममा आगलागि हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
आइतबार बिहान करिव पौनै ६ बजेकोे समयमा नेपालगन्ज–५ रामनगरमा रमेशकुमार नागको घरमा आगलागी भएको हो ।
आरिफ अन्सारीले भाडामा लिएकोसो चुराको गोदाममा एक्कासी आगलागी भएको हो ।
सोही आगलागीमा परेर घाइते भएका अन्सारीको भेरी अस्पतालमा उपचार भई रहेको साथै उनी खतरा मुक्त रहेको र बर्दिया मधुवन नगरपालिका–८ बस्ने २३ वर्षिय समिर वलीको मृत्यु भएको बाँके प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । वलीको उपचारको क्रममा भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको हो ।
मृतक वली शनिबार भेटघाटको क्रममा सो गोदाममा आएको बुझिएको छ । आगलागि भएको घरमा ठूलो विष्फोट समेत भएको छ । विष्फोटको कारण घरमा समेत क्षति भएको छ । के कारणले विष्फोट भयो भन्ने कारण समेत खुल्न नसकेको प्रहरीले जनाएको छ ।
आगो स्थानीय प्रहरी, सशस्त्र प्रहरी, नेपालगन्ज उपमहानगरपालिकाको दुईवटा दमकल र स्थानीयको सहयोगले साढे ६ बजे पूर्णरुपले नियन्त्रणमा लिइएको थियो ।


दर्शन खबर । १३ कार्तिक २०७९, आईतवार