
पाल्पा । पल्पाबाट गोरखाको मनकामनाका लागि छुटेको बस दुर्घटनामा परेको छ ।
पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर १ हुँगीबाट मनकामना मन्दिर दर्शनको लागि जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका वडा नम्बर २ मथारमा आज बिहान करिब ४ बजे दुर्घटनामा परेको हो ।
बस दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ३० जना घाइते भएका छन्
उनीहरूलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ ।
प्रहरी चौकी बुलिङटारका अनुसार दुर्घटनास्थलबाट ५ जनाको शव निकालिएको छ । रम्भा १ च्याङलिङ, नौगाउँ, गैरी र साठी क्षेत्रबाट २ वटा बसमा दर्शनार्थीहरू मनकामना दर्शनका लागि जाँदै गरेका थिए । त्यसमध्ये एक बस दुर्घटनामा परेको हो ।
बस सडकबाट करिब सय मिटर तल कालिगण्डकी किनारमा खसेको प्रहरीले जनाएको छ ।
बसमा रम्भा १ हुँगीअन्तर्गत बिसौना, च्याङलिङ र गैरी क्षेत्रका दर्शनार्थी रहेका थिए । घटनास्थलमा रहेका रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले पाँच जना यात्रुको मृत्यु भएको र ३० जना घाइतेलाई उपचार गर्न अस्पताल लगिएको जानकारी दिए ।


दर्शन खबर । १३ कार्तिक २०७९, आईतवार