छिन्चु बजारमा चाडपर्व लक्षीत बजार अनुगमन

बिनोद घिमिरे सुर्खेत । भेरीगंगा नगरपालिका वडा नम्वर १० र १२ को छिन्चु बजारमा चाडपर्व लक्षीत बजार अनुगमन गरिएको छ । तिहार नजिकिएसँगै शुक्रवार खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुमा मूल्य वृद्धि, म्याद नाघेका वस्तुको बिक्री वितरण भए नभएको, मूल्यमा एकरुपता ल्याउनको लागि भेरीगंगा नगरपालिका र उपभोक्ता संरक्षण हित संरक्षण समितिद्धारा सर्वसाधारणको स्वास्थ्यलाई मध्यनजर गरी अनुगमन समिति गठन गरी बजारका केही पसलहरु अनुगमन गरीएको हो । अनुगमनको तेस्रो दिन शुक्रवार छिन्चु बजारमा अनुगमन गरिएको हो । बजारमा हुने गरेको अखाद्य बस्तु म्याद गुज्रिएका बस्तुलाई बिक्री बितरण नर्गन आह्वान गर्दै उपप्रमुख तथा उपभोक्ता हित संरक्षण समितिको संयोजक धनसरा बोहराले सबै उपभोक्तालाई सचेत हुनुपर्ने बताईन् । नगरपालिकाले मेडिकल, फार्मेसी, एग्रोभेट, खाद्यान्न, माछामासू, तरकारी, नास्ता पसल, फलफूल लगायतका थोक तथा खुद्रा पसलमा अनुगमन गरेको हो । चाडपर्वको समयमा व्यापारीहरूले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तुलाई बेच्ने लगायतका समस्या देखिने गरेकाले तिहार आउन केही दिन बाँकी छँदै नगरपालिकाले अनुगमनलाई सक्रिय रुपमा अगाडि बढाएको हो । एग्रोभेटमा अनुगमन गर्दा म्याद सकिएका बिउ बिजन, बिषादी, पशुपंक्षीको औषधीहरु ठूलो मात्रामा बरामद गरिएको छ । एग्रोभेट संचालकलाई आगामी दिनमा म्याद सकिएका बीउबिजन तथा औषधीजन्य सामाग्री विक्री वितरण नगर्न आह्वान गरिएको छ ।

अनुगमन गर्दा प्राय म्याद गुज्रिएका सामाग्री, खरिद बिल नभएको, नबिकरण गर्न बाँकी, पसल दर्ता नभएको, मुल्य सुची नभएको साथै साइनवोर्ड नभएका पसलहरु समेत भेटिएका थिए । सो म्याद गुज्रिएको सामान भेरीगंगा नगरपालिकाले जफत गरेको छ । साथै अनुगमन गर्दा पसलहरुको कमीकमजोरी छिटै सुधार गर्न अनुरोध गर्दै आगामी दिनमा नसुधारे कडा कारवाही गरिने चेतावनी दिईएको छ ।
भेरीगंगा नगरपालिका भित्रका उद्योग फर्म र पसलहरु जुनसकै समयमा पनि अनुगमन गर्न सक्ने उद्योग तथा सहकारी शाखा प्रमुख, बजार अनुगमन टोलीको संयोजक चित्रा डांगीले बताईन् । सो अनुगमनमा भेरीगंगा नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकाल, उपप्रमुख धनसरा बोहोरा, प्रशासकीय अधिकृत कृष्ण प्रसाद पोख्रेल, भेरीगंगा नगरपालिका प्रशासन प्रमुख सिता खत्री, नगर स्वास्थ्य शाखा प्रमुख अर्जुन चपाई, कृषि शाखा प्रमुख भिम कुमार अधिकारी, पशुपन्क्षी विकास शाखा प्रमुख भोज प्रसाद चपाई, योजना तथा अनुगमन अधिकृत पिताम्बर पौडेल, जनस्वास्थ निरीक्षक अर्जुन चपाई, भेरीगंगा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष वीर बहादुर बस्नेत, उद्योग वाणिज्य संघ भेरीका अध्यक्ष सोमराज ढकाल, घरेलु महासंघ भेरीगंगाका रघुवीर मिजार,उद्यम विकास सहजकर्ता लाल बहादुर कार्की, सुनिता जैसी र सुरक्षाकर्र्मी तथा विभिन्न राजनीतिकदलको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया