कर्णालीमा २ सय ६७ मतदानस्थल अति संवेदनशील


सुर्खेत । आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि कर्णालीमा २ सय ६७ वटा मतदानस्थल अति संवेदनशील र ३ सय २५ मतदान स्थल संवेदनशिल मानिएका छन् ।
जिल्ला स्थित निर्वाचन सुरक्षा समितिहरुले तयार पारेको प्रतिवेदनहरुका अनुसार सबैभन्दा बढी संवेदनशील मतदानस्थल कालिकोटका ७४ वटा मतदान स्थलहरु मानिएको छ ।
त्यस्तै सल्यानमा ६३, दैलेखमा ४८, सुर्खेतमा २०, रुकुमपश्चिमका २१ वटा, डोल्पामा २३ र जाजरकोटमा १८ वटा मतदानस्थल अति संवेदनशील रहेको जिल्ला निर्वाचन सुरक्षा समितिहरुले जनाएका छन् ।

र सात जिल्लाका ३ सय २५ वटा मतदानस्थल संवेदनशील रहेका छन् । जसमध्य, सुर्खेतका ६ वटा, दैलेखका ६२ वटा, सल्यानका ३ वटा, रुकुमपश्चिमका ४३ वटा, डोल्पाका २६ वटा, कालिकोटका २८ वटा र जाजरकोटका ४२ वटा मतदानस्थल संवेदनशील देखिएका छन् ।
यस्तै, प्रदेशभर एक सय ३८ वटा मतदानस्थल भने सामान्य रहेका छन् । कर्णालीका अन्य तिन जिल्ला जुम्ला, मुगु र हुम्लामा भने विपतका कारणले गर्दा अहिले मतदानस्थलको अवस्था बुझ्न नसकिएको जनाईएको छ ।
कर्णालीमा आगामी निर्वाचनका लागि प्रदेशभर ९ सय ३३ वटा मतदानस्थल र एक हजार ४ सय ३ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।
आयोगका अनुसार कर्णालीमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रदेशभर दश लाख ८ हजार ४ सय ३ जना मतदाता रहेका छन् । कर्णालीमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आवश्यक तयारीलाई तीव्र पारिएको छ ।
यता, निर्वाचनलाई भयरहित र शान्तिपूर्ण बनाउन सुरक्षा व्यवस्थालाई कडाई गर्नेगरी तयारी गरिएको जिल्ला निर्वाचन सुरक्षा समितिहरुले बताएका छन ।

 

तपाईको प्रतिक्रिया