यस्ता छन् चिङ्गाड गाउँपालिकाको सय दिने प्रगती


सुर्खेत । चिङ्गाड गाउँपालिकाले पहिलो सय दिन ऐन, नियम निर्माण, परिमार्जन तथा नीति कार्यक्रम निर्माणमा खर्चिएका जनाएकोे छ । सेवा प्रवाह, कार्यालय सञ्चालन र कार्यक्रम कार्यान्वयनका लागि आवश्यक नीति नियम निर्माण तथा परिमार्जनमा गाउँपालिका केन्द्रित भएको हो । गाउँपालिकाले मंगलबार सार्वजनिक गरेको सय दिनको उपलब्धिमा उक्त कुरा उल्लेख गरिएको छ । गाउँपालिकाले लैगिङ्ग समनता तथा सामाजिक सामावेशिकरण रणनिति, सार्वजनिक जवाफदेहिता कार्यविधि, मेलमिलाप केन्द्र संचालन कार्यविधि, टोलविकास संस्था –गठन तथा संचालन कार्यविधि निर्माण गरेको छ ।

यस्तै करारमा जनशक्ति व्यवस्थापन गर्ने सम्बन्धि कार्यविधि, विषयगत समिति कार्यसंचालन कार्यविधि, शिक्षा ऐन, कृषि तथा पशुसेवा सम्बन्धि कार्यक्रम संचालन कार्यविधिको संशोधन गरिएको गाउँपालिकाका प्रवक्ता लालबहादुर जिसीले जानकारी दिए । यस्तै बन्द रहेको सामुदायिक स्वास्थ्य ईकाइ ढाँडखेत र रहकुल संचालनमा ल्याइएको, सुत्केरीका लागि निशुल्क एम्बुलेन्स संचालन गरिएको, भुमि आयोगसँग सम्झौगरी गाउँपालिकामा भूमि एकाई गठन गरि लगत संकलन सुरु गरिएको प्रवक्ता जिसीले बताए ।
जिसीका अनुसार पशु पंन्छि उत्पादन तथ्याङ्ग संकलन गर्नुका साथै गाउँपालिकाको केन्द्र र १५ शैया अस्पातलको निर्माण अघि बढाउने सन्दर्भमा सम्बन्धित पक्षसंग छलफल गर्नुका साथै शिक्षाको गुणस्तर अभिबृद्धिका लागि प्रधानाध्यापक र विद्यालय व्यवस्थापनसमितिको क्षमता विकास कार्यक्रम गरिएको छ । सय दिनमा गाउँकार्यपालिकाको ८ वटा बैठक बसेको र त्यसबाट ८५ वटा विभिन्न निर्णय गरिएको प्रवक्ता जिसीले बताउनुभयो । गाउँपालिकाले चालु आर्थिक बर्षका लागि ३९ करोेड ३८ लाख बजेट ल्याएको छ ।
निर्वाचित भएसंगै बजेट निर्माणको समय भएकाले त्यसमा केन्द्रीत हुनुपरेको भन्दै अबको समय बजेट नीति तथा कार्यक्रम कार्यान्वयनमा केन्द्रीत हुने गाउँपालिका अध्यक्ष बोधविक्रम जिसीले बताए । गाउँपालिकाको दीर्घकालिन विकास लक्ष्यका साथ नीति कार्यक्रम र योजना निर्माण गरिएको अध्यक्ष जिसीको भनाई छ ।

 

तपाईको प्रतिक्रिया