सपिङ भनेपछि किन हुरुक्कै हुन्छन् युवती ?

काठमाडौं । दशैंको तिथि नजिकिएसँगै किनमेलको याम सुरु भएको छ । दशैंको सन्दर्भमा भन्ने गरिन्छ, ‘मीठो खाने, राम्रो लगाउने चाड ।’
लत्ताकपडादेखि खाद्यान्नसम्म किनमेल गर्ने मुख्य सिजन पनि हो यो । जब किनमेलको कुरा आउँछ, तब महिलालाई अगाडि सारिन्छ । समाजमा के मान्यता स्थापित छ भने महिलाहरु किनमेल गरेर कहिल्यै थाक्दैनन् ।
किनमेल गरिरहँदा महिलाहरु न झन्झट मान्छन्, न थकान अनुभव गर्छन्, न दिन गएकै पत्तो पाउँछन् । आखिर किनमेल भनेपछि महिलाहरु किन हुरुक्कै हुन्छन् ?
‘किनमेल आफैंमा एउटा कला हो,’ मनोविद् गोपाल ढकाल भन्छन् ‘यसमा गुणस्तरीय सामग्री पहिचान गर्र्र्ने, मूल्यको हिसाबकिताब गर्ने, मोलमोलाइ गर्ने जस्ता खास गुण यसमा जरुरी हुन्छ, जुन महिलामा विद्यमान हुन्छ ।’
किनमेल गर्नु झन्झटिलो प्रक्रिया त हो नै, उत्तिकै झर्कोलाग्दो पनि । यद्यपि महिलाहरुमा धैर्य र सहनशील क्षमता हुने भएकाले किनमेलका लागि उनीहरु योग्य हुन्छन् । एउटै सामग्री खरिद गर्न पनि धेरै समय लगाउँछन्, राम्रो–नराम्रो भनी त्यसको जाँच गर्छन् सही मूल्यका लागि मोलमोलाइ गर्छन् । यस्तो धैर्यता पुरुषमा नहुने मनोविद् ढकाल बताउँछन् ।
किनमेलकै कुरामा महिलाहरु आफ्नो लत्ताकपडा वा सौन्दर्य प्रसाधनका लागि पनि उत्तिकै मरिहत्ते गर्छन् । के भनिन्छ भने महिलाहरुलाई जति लुगाफाटो भए पनि पुग्दैन । घरबाहिर निस्कने बेला उनीहरुलाई जहिले पनि लुगाको अभाव हुन्छ ।

 

जस्तो अभिनेत्री तथा टेलिभिजन प्रस्तोता रीमा विश्वकर्माको कुरा सुनौं ।

किनमेल भनेपछि उनको थाकेका तन्तु पनि तंग्रिन थाल्छन् । रीमा खासगरी लत्ताकपडा खरिद गर्न रुचाउँछिन् । ‘ब्रान्डेड वा यो त्यो भन्ने नै छैन,’ रीमा भन्छिन्, ‘झट्ट हेर्दा राम्रो देखेपछि किन्न मन लागिहाल्छ ।’
तर उनी आफ्ना लागि मात्र नभएर परिवारका लागि पनि किनमेल गरिरहेकी हुन्छिन् । देशबाहिरबाट घर फर्कंदा उनले परिवारका सदस्यका लागि केही न केही बोकेकै हुन्छिन् । उनी एकपटक किनमेल गर्दा धेरैमा डेढ लाख रुपैयाँसम्म खर्च गर्छिन् ।

किनमेलले तनाव घट्छ

किनमेल गरिरहँदा महिलाहरुले कतिपय तनावसमेत भुल्ने र उमंगित हुने मनोविद् ढकाल बताउँछन् । उनको भनाइसँग अभिनेत्री पूजा शर्माको अनुभव मिल्दो छ । पूजा भन्छिन्न्, ‘किनमेल गर्नु त मेरो लागि औषधि जस्तै हो । आफूलाई मन परेको सरसामान किनिरहँदा आफूलाई निकै हल्का र फूर्तिलो अनुभव गर्छु ।’
किनमेल गर्नुअघि उनको खास योजना हुँदैन । बजारमा पुगेपछि मन परेको सामग्री उठाउँछिन् । घरायसी सरसामान किन्न उनी भाटभटेनी सुपरस्टोर पुग्ने गर्छिन् । नुनदेखि सुनसम्म पाइने भएकाले उनलाई भाटभटेनी सुपरस्टोर किनमेलका लागि सहज लाग्छ । उनी एक पटकमा ५० हजार रुपैयाँसम्मको किनमेल गर्ने गर्छिन् ।
जहाँ पुरुषहरु किनमेलका लागि झन्झट मानिरहेका हुन्छन्, महिलाहरु त्यसमा आनन्द मानिरहेका हुन्छन् । साथै यसले आत्मबल बढाउँछ । अभिनेत्री सुरक्षा पन्तको अनुभव पनि यस्तै छ । ‘तनाव भएको बेला किनमेलमा गइयो भने आनन्द आउँछ,’ सुरक्षा भन्छिन्, ‘यसले तनावरहित बनाउने र आत्मबल बढाउने काम गर्छ ।’
उनी किनमेलका लागि एक्लै निस्किन्छिन्। प्रायःजसो पुस्तक, लुगाफाटो र जुत्ता खरिद गर्छिन् । उनका लागि किनमेलको कुनै विशेष ठाउँ छैन, फुटपाथदेखि ठूला सपिङ सेन्टरसम्म पुगिरहेकी हुन्छिन् । onlinekhabar


तपाईको प्रतिक्रिया