७ सय ५३ वटै स्थानीय तहमा नमुना मतदान गराउँदै आयोग


काठमाडौँ । आसन्न हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव अघि निर्वाचन आयोगले देशभरका सबै स्थानीय तहमा नमुना मतदान गराउने भएको छ । त्यसका लागि आयोगले नमुना मतपत्र समेत छापिसकेको छ । समानुपातिक निर्वाचन प्रणालीका लागि मतपत्र छपाई अघि जनक शिक्षा सामग्री केन्द्रमा मतदाता शिक्षा प्रयोजनका लागि नमुना मतपत्र छपाई गरिएको हो ।

 

निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले आगामी निर्वाचनमा बदर मत घटाउनका लागि आयोगले यो कार्यक्रम गर्न लागेको जानकारी दिए । अयोगले ७५३ वटै स्थानीय तहमा नमुना मतदान गर्ने कार्यक्रम गर्ने तयारी गरेको र देशका सबै पालिकामा मतदाताहरूलाई सरिक गराएर कम्तीमा एक–एक वटा नमुना मतदान गराउने आयोगको कार्यक्रम रहेको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्याललले बताए ।
एउटा पालिकामा कम्तीमा पाँच सयदेखि छ सय नमुना मतपत्र पठाउने तयारी गरेको उनले बताए । सोही संख्यामा मतदाताले नमुना मतदान प्रक्रियामा सहभागी हुन पाउने उनको भनाइ छ । जिल्ला निर्वाचन कार्यालयले स्थानीय तहसँग समन्वय गरेर नमुना मतदानको कार्यक्रम गर्ने तयारी छ । नमुना मतदानको काम दसैँ पछिबाट सुरु हुने उनले बताए । दसैँ सकिएपछि निर्वाचनको समय आउन झन्डै ४० दिन बाँकी हुने भएकोले सो अवधिमा सबै स्थानीय तहमा नमुना मतदानको काम सम्पन्न गर्ने लक्ष्य लिइएको उनको भनाइ छ ।
दसैँ पछिबाट निर्वाचनको पनि माहोल बन्दै जाने भएकाले त्यो बेला मतदाता शिक्षालाई प्रभावकारी बनाउनका लागि यो कार्यक्रम राखिएको सहप्रवक्ता अर्यालले रातोपाटीलाई बताए । स्थानीय तहमा नमुना मतदानको कार्यक्रम एकै दिन नगरेर फरक फरक समयमा गर्ने उनले बताए ।
मतदाता शिक्षा कार्यक्रमका लागि केही सन्देश भने दसैँ अगाडि देखिनै सुरु गर्ने र खरिद प्रक्रियाबाट उत्पादन हुने मतदाता शिक्षा कार्यक्रमको प्रसार सामग्री दसैँपछिबाट अगाडि लैजाने तयारी छ । दसैँ पछिसम्म प्रत्यक्ष तर्फका उम्मेदवारहरूको पनि टुङ्गो लागिसक्ने भएकाले त्यसपछि निर्वाचन शिक्षा कार्यक्रमलाई व्यापक बनाएर लैजाने उनले बताए ।


तपाईको प्रतिक्रिया