
दुर्पता र दुर्पताका श्रीमान मकै पोल्दै गरेको तस्बिर
कुलेन्द्र शाही सुर्खेत : भेरीगंगा १२ राजीगाउँकी ५३ वर्षकी दुर्पता गिरी मकै पोलेर बेच्दै आएकी छिन । कर्णाली प्रदेशको मुख्य प्रवेशद्धार छिन्चुको बसपार्क चोेकमा बसेर मकैँ बेच्नु उनको दैनिकी हो । पहिले उनले गिट्टी बालुवाको काम गरेर दिनमा दुई सय कमाउथिन भने करिब ४ वर्ष देखि उनले मकै पोलेर जिवन चलाएकी छन ।
बिचमा कोरोना भाईरस सुरु भयो कोरोना भाईरस सुरु भएयता उनको जिवनमा गर्दै आएको मकै पोल्ने काममा ठुलो प्रभाव प¥यो । तर पनि उनले हार नमानेर तथा अरु कुनै रोजगार नभए पछि फेरि २०७९ सालको जेठ महिना देखि पहिलेकै मकै पोल्ने काम सुरु गरिन् ।
गिरीले दैनिक एक हजार देखि १२ सय रुपैयासम्म मकै पोलेर आम्दानी गर्दै आएकी छन् । मकै पोलेर उनले ३ जनाको परिवार पालनपोषण गरेर छोराछोरीलाई समेत पढाउँदै आएकी छन ।उनले आफ्नो जिवन कथा सुनाउँदै भनिन्, ”पहिले गिट्टी बालुकाको लगायत अन्य काम गर्थे तर त्यो काम गरेर दिनमा एक देखी दुई सय रुपैया कमाई हुने कहिले काहीँ त्यही काम पनि नपाउने हुँदा त्यो काम छोडेर मैले मकै पोलेर बेच्ने काम सुरु गरेको हुँ”।

”मकै पोलेर बेच्ने काम धेरै गाह्रो छ पैसा त हुन्छ तर पैसा भएपनि व्यापार भने सन्तोषजनक नरहेको दुर्पता बताउँछिन । जतिसुकै घाम होस वा बादल गर्जेर पानी पर्न लागेको अवस्था होस काम नगरी जिवन गुजारा गर्न गाह«ो छ” दुर्पताले भनिन् ।
दुर्र्पताका एक छोरा र चार छोरी छन । चारै छोरीले बिचमा पढाई छोडेर बिहे गरिसकेकी छन भने छोरालाई गिरीले मकै पोलेर सरकारी विद्यालयमा पढाइरहेकी छन । दुर्पता छिन्चुको सडकछेउमा जिविकोपार्जन गर्न न लाज मान्छिन न गाह्रो नै भदौ महिनाको हिलो धुलो सडकको छेउमा गाडीहरुको चाप आगोको रापमा एकातिर लौरीमा छाता अडेस लगाएर अर्को तिर हातमा चिम्टा, पानीको बोतल लगायत विभिन्न सामान राखि मकै पोलेर जिवन धान्दै आईरहेकी छन ।
दुर्पताका श्रीमान सेतुनाथ गिरी बनको चौकीदार हुन तर फुसर्दको समयमा उनले पनि मकै पोल्ने काममा सघाउने गर्छन । दुर्पताले भनिन् ”हामी मकैकोे सिजन नहुँदा हिउँदमा दाउरा बटुल्छौँ अनि आजभोली रामघाट, जहरे बोटेचौँर भेरीगंगा ४ लगायत अन्य विभिन्न स्थानबाट होलसेलमा प्रतिगोटा मकै १० रुपैयामा किनेर पोलेको मकै १५ देखि २० रुपैयासम्म सम्म विक्री गछौँ”। कोठाबाट मकै दाउरा कोईला हप्किने पंखा र अन्य बन्दोबस्तीका सामान लिएर उनिहरु बिहान ७ बजे निस्किएर राति ८ः०० बजे व्यस्त हुन्छन । यसरी नै उनिहरुको जिवन चलिरहेको छ ।


दर्शन खबर । २१ भाद्र २०७९, मंगलवार