काठमाडौं । निर्वाचन आयोगले मतदान स्थल पुनरावलोकन गरेको छ । सोमबार आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले विज्ञप्ति जारी गरी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि मतदान पुनरावलोकन गरिएको जानकारी गराउनुभएको हो ।
मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७ बमोजिम मतदान प्रक्रियामा सहज पहुँचका लागि मतदाताको संख्या, सुविधा एवं सुरक्षाको अवस्था समेतलाई मध्यनजर गरी केही मतदान स्थल पुनरावलोकन गरिएको आयोगले जनाएको छ ।
आयोगको विज्ञप्तिमा भनिएको छ, ‘कार्यविधिमा भएको व्यवस्था बमोजिम मिति २०७९ साउन १ गतेदेखि मतदान स्थल पुनरावलोकन कार्यक्रम सञ्चालन गरी मतदाताको सघनता, मतदान स्थलसम्मको पहुँच, भवन, सञ्चार, विद्युत्, यातायात लगायतका पूर्वाधारको अवस्था, सुरक्षा एवं भौगोलिक अवस्था र निर्वाचनका सरोकारवालाहरूको सहमति समेतका आधारमा जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिले गरेको सिफारिस बमोजिम मतदान स्थल पुनरावलोकन गरिएको हो ।’
मतदान स्थल पुनरावलोकन हुँदा १ हजार १२३ मतदान स्थलको त्रुटि सच्याइएको, साबिकका ३६५ मतदान स्थलबाट सबै मतदाता स्थानान्तरण गरी ३६४ मतदान स्थल निर्धारण गरिएको, १६३ मतदान स्थलबाट आंशिक मतदाता स्थानान्तरण गरी १६९ मतदान स्थल निर्धारण गरिएको साथै २८ वटा मतदान स्थलका सबै मतदातालाई २८ वटै मतदान स्थलमा र १५ मतदान स्थलका आंशिक मतदातालाई स्थानान्तरण गरी १३ वटा मतदान स्थलमा गाभिएको आयोगले उल्लेख गरेको छ ।
योसँगै अव देशभरका मतदान स्थलको संख्या १० हजार ८८८ पुगेको छ । यसअघि देशभर १० हजार ७५६ मतदान स्थल थिए । मतदान स्थल पुनरावलोकन गर्दा देशभरका ४०१ मतदान स्थललाई हटाई नयाँ मतदान स्थल निर्धारण गरिएको आयोगले जनाएको छ ।
‘मतदान स्थल पुनरावलोकन भए पश्चात् स्थानीय तहको निर्वाचन, २०७९ को समयमा मतदान गर्नका लागि बास बस्नुपर्ने, निकै टाढा टाढासम्म हिँड्नुपर्ने लगायतको गुनासो समेत सम्बोधन भई मतदातालाई मतदान स्थलसम्मको पहुँच सहज भई निर्वाचनमा मतदाताको सहभागिता अझ बढ्ने अपेक्षा आयोगको रहेको छ,’ आयोगले भनेको छ ।


दर्शन खबर । २० भाद्र २०७९, सोमबार