काठमाडौं । सरकारले सोमबारदेखि कर्मचारीहरूको नियुक्ति, सरुवा, बढुवा कुनै पनि काम गर्न नपाउने भएको छ । निर्वाचन आयोगले गत भदौ २ गते दिएको निर्देशन अनुसार सरकारले आजबाट कुनै पनि कर्मचारीको सरुवा, बढुवा, नियुक्ति कुनै पनि काम गर्न नपाउने भएको हो ।
मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि सो काम नगर्न आजभन्दा १८ दिन अघि अर्थात् गत भदौ २ गतेनै आयोगले निर्देशन दिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताउनुभयो । उहाँले कुनै पनि ठाउँमा स्वीकृत दरबन्दी रिक्त रहेमा त्यसलाई पूर्ति गर्न सरकारले १८ दिनको समय दिएको पनि स्पष्ट पार्नुभयो।
निर्वाचन आयोगले यसअघि नै निर्वाचन प्रयोजनका लागि कर्मचारी व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सबै जिल्लाहरूमा कर्मचारी व्यवस्थापन कमिटी बनाएको छ । कर्मचारीहरूलाई निर्वाचन प्रयोजनका लागि परिचालन गर्न सबै जिल्लाहरूमा सो कमिटीको पनि व्यवस्था गरिएको आयोगका सहायक प्रवक्ता अर्यालले बताउनुभयो ।
निर्वाचन आयोगले निर्वाचनको मिति घोषणा भएदेखि नै सरकारलाई आचारसंहिता लाग्ने पनि स्पष्ट पारेको छ । आगामी मङ्सिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन हुँदैछ ।


दर्शन खबर । २० भाद्र २०७९, सोमबार