एमाले र राप्रपाबीचको चुनावी तालमेल सहमतीको नजिक

काठमाडौं  ।  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मंसिर ४ गते हुँदैछ । निर्वाचनको मिति तय भएदेखि नै सबै राजनीतिक दलहरु चुनावी तयारीमा लागिसकेका छन् । नेताहरुले आफू चुनाव लड्ने क्षेत्रमा उम्मेदवारी घोषणाको कार्यक्रम गरिरहेका छन् । स्थानीय तहको चुनाव जस्तै आउँदो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि सत्ता गठबन्धन दलहरु तालमेल गरेर जाँदैछन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी लगायतका ५ दलहरु सिट बाँडफाडको लागि निरन्तर छलफलमा छन् । यस्तै स्थानीय तहको निर्वाचनमा एक्लै चुनाव लडेको नेकपा एमाले यसपटकको चुनावमा तालमेल गरेर जाने पक्षमा छ । चुनावमा तालमेलको लागि नेकपा एमाले र राप्रपाबीच कुराकानी भइरहेको नेताहरुले बताइरहेका छन् ।

 

चुनावी तालमेलको लागि केही समयअघि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, केन्द्रिय सदस्य रेखा थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट गरेका थिए । अहिले एमाले र राप्रपाबीच तालमेल गरेर निर्वाचन लड्ने सहमतीको नजिक पुगेको स्रोतको भनाई छ ।
यी दुई दलले देशभर नै चुनावी तालमेल गर्ने बिषयमा छलफल गरिरहेको बताइएको छ । दुई दलबीचको सिट वाँडफाँट केही बाँकी रहेको र केही दिनमा टुंगिने राप्रपाका एक नेताले बताएका छन् । दुई दलका अध्यक्ष र पदाधिकारीस्तरमा सहमति गर्ने तयारी भइरहेको ती नेता बताउँछन् ।
आउँदो निर्वाचनमा राप्रपाले एमालेसँग २० सिटको दाबी गर्ने बताइएको छ । राप्रपाको बलियो मत भएको क्षेत्रमा उम्मेदवारलाई सिट बाँडफाँड गर्ने योजनामा राप्रपा छ । ओलीकै निर्वाचन क्षेत्रमा आफ्नो संगठन बलियो रहेको राप्रपाका नेताहरुले बताइरहेका छन् ।।
यसअघि २०७४ सालको चुनावको कुरा गर्दा, राप्रपाले कांग्रेससँग गठबन्धन गरेको थियो । तर ओली र लिङ्देनकै जिल्ला झापामा भने एमाले र माओवादी केन्द्र तथा राप्रपाबीच गठबन्धन भएको थियो । यीनीहरुले एकले अर्कालाई चुनावी तालमेल गरेर सघाएका थिए । sutranews

 


तपाईको प्रतिक्रिया