
डि.आर. खनाल । सुर्खेत । स्थानीय सरकारको क्षमता अभिवृद्धिका लागि विपद् जोखिम व्यवस्थापन सम्बन्धी ३ दिने तालिम पञ्चपुरीमा सम्पन्न भएको छ ।
भदौ १० गते सुरु भएको तालमि देखि १२ गतेसम्म सञ्चालन भएको हो । यसएसएआईडी र मर्सिकोर नेपालको आर्थिक सहयोगमा सुन्दर नेपाल संस्थाद्वारा सञ्चालित भकारी कार्यक्रम अन्तर्गत तालिम सांलन गरिएको हो ।
तालिममा विपद् जोखिम सम्बन्धि नेपाल सरकारको नीतिहरु, स्थानीय विपद् जोखिम व्यवस्थापन ऐन, स्थानीय विपद् जोखिम व्यवस्थापन समितिको काम र कर्तव्यहरु, पूर्व चेतावनी प्रणाली, जोखिमको वित्तीय व्यवस्था, जोखिम हस्तान्तरण संयन्त्र र स्थानीय तहमा विपद् जोखिम व्यवस्थापन कोष सञ्चालन कार्यविधि जस्ता विषयमा सहभागीहरुलाई जानकारी दिइएको हो । सहभागीहरुले सिकाई सँगै नगरपालिकाको विपद् व्यवस्थापनका लागि कार्य योजना समेत तयार पारेको छ ।
कार्यक्रममा बोल्दै पञ्चपुरी नगरपालिकाका नगर प्रमुख लालविर भण्डारीले स्थानीय विपद् व्यवस्थापन कोषको व्यवस्था गरिएको र आउन सक्ने विपद् तथा जोखिमका लागि पूर्व तयारीका आवश्यक सामाग्रीको पनि तय गरिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
साथै उक्त तालिम कार्यक्रमबाट पञ्चपुरी नगरपालिकाले आफ्नो क्षेत्र भित्र विपद् बाट हुन सक्ने जोखिमलाई न्युनिकरण गर्दै आफ्नो समुदायको अमुल्य जन जीवन, धन सम्पत्ति तथा सार्वजनिक सम्पत्तिको संरक्षण गर्न मानवीय सिद्धान्त, लैंगिक समानता र सामाजिक समावेशितालाई समेत आत्मसात गर्दै तत्काल विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि १० बुँदे नेपाल विपद् व्यवस्थापन घोषणा पत्र समेत जारी गरेको छ ।
कार्यक्रम माथि प्रकाश पार्दै भकारी परियोजना संयोजक जनक नारायण आचार्यले स्थानीय तहको सहयोग बाट नै जोखिम न्यूनीकरण गर्न सकिने र कार्यक्रम पनि सफल हुन सक्ने विश्वास व्यक्त गर्नुभयो । सुन्दर नेपाल संस्थाद्वारा सञ्चालित भकारी परियोजना पञ्चपुरी नगरपालिकाका ५, ९, १० र ११ गरी ४ वटा वडाका १२ वटा समुदाय लगायत चौकुने गाउँपालिकाका ५ वटा वडा र वराहताल गाउँ पालिकाका ५ वटा वडा सहित ३ वटा पालिकाका १४ वटा वडामा ४७ समुदायलाई समेटेर सन् २०२० अक्टोबर देखि परियोजना लागू गरिएको हो । परियोजनाले कृषि, विपद् व्यवस्थापन, उत्पादनमूलक पानी, लैंगिक समानता र समावेशीकरण, आकस्मिक सहयोगका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत पदम लामिछाने र मध्य पश्चिमाञ्चल विश्वविद्यालयका उप प्राध्यापक ललित जङ्ग शाहीले सहजीकरण गर्नुभएको कार्यक्रममा पञ्चपुरी नगरपालिकाका नगर प्रमुख लालविर भण्डारी लगायत सबै वडाका वडाध्यक्षहरु, नगरपालिका मातहतका कार्यालय प्रमुख तथा प्रतिनिधिहरु, स्वास्थ्य शाखा प्रमुख, रेडक्रस सोसाइटीका प्रतिनिधि, इलाका प्रशासन कार्यालयका प्रतिनिधि, इलाका प्रहरी कार्यालयका प्रतिनिधि र स्थानीय सञ्चारकर्मी लगायत २३ जना सहभागीहरुको सहभागिता रहेको थियो ।


दर्शन खबर । १३ भाद्र २०७९, सोमबार