भदौ २२ गतेभित्र उम्मेदवार सिफारिस गरिसक्न एमालेको निर्देशन

काठमाडौँ । नेकपा एमालेले आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि भदौ २२ गतेभित्र उम्मेदवार सिफारिस गरिसक्न मातहतका कमिटीहरूलाई निर्देशन दिएको छ ।

ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा आज सम्पन्न केन्द्रीय कमिटी बैठकले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारको सिफारिस प्रक्रिया र मापदण्ड तय गर्दै भदौ २२ गतेभित्र सिफारिस गरिसक्न तल्ला कमिटीहरूलाई निर्देशन दिएका हो ।

बैठकका प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले प्रदेश वा प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस प्रक्रिया र मापदण्ड तय गरेको जानकारी लिनुभयो ।

बैठकले समानुपातिकतर्फ एक पटक अवसर पाइसकेकालाई नदोहोर्‍याउने, पालैपालो प्रणाली अपनाउने, कुनै पनि निर्वाचनमा पराजित भएकाहरूलाई उम्मेदवार नबनाउने निर्णय गरेको छ ।

यस्तै, स्थानीय तहमा निर्वाचित भएकाहरूलाई राजीनामा गराएर उम्मेदवार सिफारिस नगर्न र अन्य पार्टीबाट प्रवेश गरेकाहरूको हकमा भने विशेष निर्णय गरिने निर्णय भएको प्रचार विभाग प्रमुख गुरुङले जानकारी दिनुभयो ।

बैठकले युवा कार्यकर्ता केन्द्रित निर्वाचन परिचालन बुथ कमिटी गठन गर्ने, हरेक सदस्यले नयाँ दुई भोट थप गर्ने र पाँच मत संरक्षण गर्ने नीति अघि सारेको छ ।

बैठकले सचिवालयले गरेको निर्णयहरूको अनुमोदन, समानुपातिक तर्फको उम्मेदवारको औपचारिक मनोनयन र बन्द सूचीको निर्णय गर्ने अधिकार पार्टी सचिवालयलाई दिने निर्णय समेत गरेको छ ।रेडियो नेपाल


तपाईको प्रतिक्रिया