कुसे औंसी, आज बुबाको मुख हेर्ने दिन

सुर्खेत / भाद्रकृष्ण औंसीका दिनमा मनाइने कुसेऔंसी पर्व आज घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ । सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गर्छन् ।

ब्राहृमणहरू शास्त्रोक्त विधिअनुसार कुश पूजा गरी छेदन गरेर जजमानकहाँ पुर्‍याउने गर्छन् । कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बी कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको स्वरूप मानी पूजा आजा गर्ने गर्छन् । कुशको पूजा आजा गरी छेदन गरेर घरघरमा भित्र्याइने दिन भएकाले वर्षभरिका १२ औंसीमध्ये आजको औंसीलाई कुसेऔंसी भन्ने गरिएको हो ।

कुशको प्रमाणित वैज्ञानिक महत्त्व

एउटा वैज्ञानिक प्रयोगका क्रममा एक मुठ्ठी कुशलाई विकीरण माँझमा राख्दा कुशले सम्पूर्ण विकिरण आफूबाट परिवर्तित गरेको पाइयो । यस प्रकारले सनातन संस्कारमा कुशको सदासर्वदा प्रयोगले प्राचीन विज्ञानको अभिलेख र प्रभावकारी व्यवहारिक जीवनशैली प्रस्तुत गरेको छ ।

वैज्ञानिक रूपमै सिद्ध यस अदभूत् कुशबाट बनेका औँठी र अन्य सांस्कृतिक प्रयोगमा एकपछि अर्को पीढीले हिन्दु धर्मले सामान्य जीवनमा समेत प्रयोग गर्न सबैलाई प्रोत्साहित गर्छ ।

दाहिने हातको औँलामा कुशलाई औंठीका रूपमा प्रयोग गर्दा वातावरणमा भएका गलत तरङ्ग र विकिरणहरू निस्तेज गर्ने विश्वास र विज्ञान तः प्रमाणित सिद्धान्तहरूले स्पष्ट पार्छन् ।
मातृ देवो भव ।
पितृ देवो भव ।।
गुरू देवो भव ।।।
अर्थात्स् आमा, बुवा, गुरु सबै भगवान् हुन् ।

बुबाको मुख हेर्ने दिन पनि आजै

आजकै दिन छोराछोरीहरू आआफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन गराई आदर सम्मान प्रकट गर्छन् । यसैकारण आजको दिनलाई ‘बाबुको मुख हेर्ने’ दिन र पितृ दिवससमेत भनिन्छ ।

कुशे औँसीका दिन पिताको भौतिक उपस्थिति हुने छोराछोरीले उनको मुख हेरेर मिठाई, फलफूल, कपडा आदि उपहार दिने र परदेशमा हुने छोराछोरीले फोनबाटै पनि कुरा गर्छन् भने भौतिक रूपमा अस्त भइसकेका पिताहरूलाई छोराछोरीहरूले तस्बिर हेरेर अथवा विभिन्न धार्मिक पीठ, देवालय जस्तैस् गोकर्णेश्वर महादेव, रसुवाको बेत्रावती, तनहुँको देवघाट, विष्णु पादुका तथा सुनसरीको वराहक्षेत्र लगायतका पवित्र तीर्थस्थल पुगेर स्थान गरी पितृहरूको नाममा श्राद्ध गरी तर्पण दिई सीधा दान गरी आध्यात्मिक चिन्तनबाट समेत सम्झना गर्ने गर्छन् ।

आजका दिन बाबु नहुनेहरू भने काठमाडौँको उत्तरपूर्वी भेगस्थित वाग्मती, चन्द्रमती र सूर्यमती नदीका संगमस्थलस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थमा गई बाबुका नाममा तर्पण र श्राद्ध गरी सिदा दानसमेत गर्ने गर्छन् । रसुवाको वेत्रावतीमा समेत आज दिवङ्गत पिताका नाममा तर्पण, श्राद्ध र सिदा दान गर्ने गरिन्छ ।

पितृदेवो भवः भन्ने शास्त्रीय वचनअनुसार आजको दिनमा जीवित बाबुलाई मीठो मसिनो खान दिएर र दिवङ्गत पिताका नाममा तर्पण, श्राद्ध र सिदा दान गरेर खुसी पारेमा सुख मिल्ने धार्मिक विश्वास छ । गोकर्णमा आज मेलासमेत लाग्छ ।

आज मोती जयन्ती पनि

नेपाली साहित्यको क्षेत्रमा मोतीराम भट्टको पनि ठूलो योगदान छ । युवाकवि भनेर चिनिने उनलाई नेपाली साहित्यमा गजल भित्र्याउने साहित्यकार भनेर पनि चिनिन्छ ।

विसं १९२३ साल भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसीका दिन जन्मेर विसं १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा उनको निधन भएको थियो ।

तिथिका हिसाबले उनको जन्म र निधन दुवै भाद्रकृष्ण औंसीका दिन भएको थियो । नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याएका थिए भने नेपालमा छापाखानासमेत भित्र्याएका थिए ।

नेपाली भाषामा गजलको प्रारम्भ पनि यीनै महान मोतीरामले नै गरेका हुन् । आज नेपाली साहित्यकारले भट्टलाई विशेष श्रद्धापूर्वक सम्झने गर्दछन् ।


तपाईको प्रतिक्रिया