एमालेको पक्षमा जनमत आउने गरी काम गर्न ओलीको निर्देशन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी संघ र प्रदेशको निर्वाचनमा जनमत एमालेको पक्षमा आउने वातावरण बनाउन निर्देशन दिनुभएको छ ।

शुक्रवार ललितपुरको च्यासलमा अवस्थित पार्टी केन्द्रीय कार्यालयमा शुरु भएको पार्टीको केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा जनमत एमालेको पक्षमा आउने वातावरण बनाउन निर्देशन दिनुभएको हो।

उहाँले जनता अलमलमा पर्नसक्ने भन्दै उनीहरुलाई अलमलबाट मुक्त गरेर एमालेको पक्षमा आउने वातावरण बनाउने जिम्मेवारी पार्टीका नेता, कार्यकर्ताहरूको काँधमा रहेको बताउनुभयो। उहाँले जनमत एमालेको पक्षमा पार्ने र सो जनमतको रक्षा गर्नका लागि आवश्यक तरिका र उपायहरु अवलम्वन गर्न निर्देशन दिनुभयो।

अध्यक्ष ओलीले निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउनका लागि प्रभावकारी भुमिका खेल्न पनि आग्रह गर्नुभयो। निष्पक्ष निर्वाचन गराउनका लागि सरकारलाई दबाब दिनुपर्ने र सम्बन्धित निकायलाई बेठीक काम गर्न रोक्नुपर्ने पनि उहाँको भनाइ छ ।

केन्द्रिय कमिटी बैठकमा नवनिर्वाचित केन्द्रिय कमिटीका सदस्यहरुले शपथग्रहण गरेका छन् । बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गर्ने, सचिवालयका निर्णय अनुमोदन गर्ने, उम्मेदवारको छनोटको मापदण्ड तय गर्ने कार्यसूची रहेका छन् ।

त्यस्तै स्थानीय निर्वाचन छानबिन कमिटीको प्रतिवेदन, सदस्यता अभिलेख व्यवस्थापन, सल्लाहकार परिषद् र पार्टीका आयोगहरूका प्रतिवेदन पेस गर्ने लगायतका कार्यसूची रहेको एमालेले जनाएको छ ।


तपाईको प्रतिक्रिया