माओवादीले शुक्रबार पनि पदाधिकारी टुंगो लगाउन सकेन,अर्को बैठक शनिबार

काठमाडौं / नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बिना निष्कर्ष सकिएको छ। शुक्रबार पार्टी कार्यालय पेरिस डाँडामा बसेको बैठकले पदाधिकारी टुंगो लगाउने भनिए पनि बैठक निष्कर्ष बिना नै सकिएको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले पदाधिकारीको बारेमा लगभग टुंगो लागि सकेपनि निर्णय भने भइ नसकेको जानकारी दिए।

उनले आगामी निर्वाचनको विषयमा पनि बैठकमा विस्तृत छलफल भएको बताए। उनले पार्टी अध्यक्ष पुष्पकमल दाहालको कार्य व्यस्तताका कारण पनि पदाधिकारीको टुंगो लाग्न नसकेको बताए। माओवादी केन्द्रको बैठक केही दिन यता पदाधिकारी टुंगो लगाउने भन्दै निरन्तर बसिरहेको छ।

यद्यपी पदाधिकारीको टुंगो भने विविध कारण वश लाग्न सकेको छैन। ‘पदाधिकारीको विषयमा र कार्यक्रमको विषयमा विस्तृत छलफल गरेका छौँ। भोलि १ बजे बसेर टुंग्याउने भनिएको छ। पदाधिकारीका विषयमा पनि करिव करिव टुंगिएको स्थिति छ। अध्यक्ष र अरु कमरेडको अन्य कार्यक्रममा भाग लिनुपर्ने भएकोले भोलि सम्मका लागि सरेको हो उनले भने। पार्टी स्थायी कमिटीको अर्को बैठक शनिवार १ बजेका लागि बोलाइएको छ।


तपाईको प्रतिक्रिया