काठमाडौं / नेकपा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्नका लागि पार्टी एकता संयोजन समिति बनाउने निर्णय गरेको छ ।
बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले पार्टी एकता संयोजन समिति बनाउने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताउनुभयो ।
पार्टी एकता संयोजन समितिमा एकीकृत समाजवादीका शीर्ष नेताहरू अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरू रहनुपर्ने सुझाव पनि बैठकले दिएको एकीकृत समाजवादीका नेताहरूले बताएका छन् ।
एकीकृत समाजवादीले भदौ ९ गते पार्टी पुनर्गठन दिवस मनाउने निर्णय गरेको खतिवडाले बताउनुभएको छ । नेकपा एमालेबाट विभाजित भएपछि अघिल्लो वर्ष भदौ ९ गते एकीकृत समाजवादीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको थियो ।
त्यसबाहेक आगामी प्रदेश सभा र प्रतिनिधि सभाको उम्मेदवार चयन गर्नका लागि उम्मेदवार छनौट विधि सहितको निर्देशिका बैठकले पारित गरेको खतिवडाले बताउनुभयो। स्वीकृत मापदण्डअनुसार निर्वाचन क्षेत्रीय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीले उम्मेदवार सिफारिस गर्ने विधि तय भएको छ ।
ती कमिटीले १ जना महिलासहित ४ जना संघीय सांसदका लागि र प्रदेश सभाका लागि पनि १ जना महिलासहित ४ जनाको नाम केन्द्रीय कमिटीमा पठाउनुपर्नेछ ।
आगामी भदौ २५ गतेभित्र सबै उम्मेदवारको टुंगो लगाउने निर्णय पनि भएको उहाँले बताउनुभयो । बैठकले पार्टीका केन्द्रीय सदस्यको कार्य विभाजनमा पनि हेरफेर गरेको उहाँको भनाइ थियो ।


दर्शन खबर । १ भाद्र २०७९, बुधबार