कुलेन्द्र शाही भेरीगंगा / भेरीगंगा नगरपालिका ४ बाउनेचौरका क्यान्सर पीडित प्रेम परियारलाई बचाउने प्रयास असफल भएको छ । आर्थिक अभावमा उपचार हुन नसकेपछि आर्थिक संकलन अभियान सञ्चालन गरिरहेकै बेला परियारको आज बिहान मृत्यु भएको हो ।
२८ बर्षिय परियारको आज बिहान ३:४५ बजेतिर घरमै मृत्यु भएको भेरीगंगा नगरपालिकाका जुझारु समाजसेवि देवराज वलीले जानकारी दिए । आर्थिक अवस्था कमजोर रहेको परियारको परिवारलाई क्यान्सरको उपचार गराउने रकम नभएपछि उनका आफन्त र स्थानियवासीले आर्थिक संकलन अभियान सुरु गरेका थिए ।

अभियान अन्तर्गत आर्थिक संकलन भएपनि परियारलाई बचाउने प्रयास असफल भएको समाजसेवि वलीले बताए ।आज भोली उपचारका लागि लैजाने तयारी भइरहेको, तर दैवका अगाडी केही नलागेको मृतकका परिवारले दुःख पोखेको छ ।
परियारको उपचारका लागि अहिलेसम्म करिब करिब तिन लाख रुपैयाँ सम्म संकलन भएको समाजसेवि वलीले बताए ।आर्थिक संकलन जारी रहेकै बेला क्यान्सर पीडित परियारको मृत्यु भएको हो ।
परियारको उपचारमा सहयोग गर्ने सबैलाई मृतकका घरपरिवार र समाजसेवि वलीले धन्यवाद ज्ञापन गरेका छन ।


दर्शन खबर । २६ श्रावण २०७९, बिहीबार