कर्मचारी नहुदा समयमै खुल्दैन वडा कार्यालय, सामाजिक सुरक्षा भत्ता समेत रोकियो

कुलेन्द्र शाही जाजरकोट / शिवालय गाउँपालिका वडा नम्वर ५ को कार्यालयबाट समयमै सेवा नपाएको जनगुनासो आएको छ ।
गाउँपालिकाले करारका कर्मचारी हटाए पश्चात वडा कार्यालय नियमित रुपमा खुल्न सकेको छैन । कार्यालय समयमै नखुल्दा सेवाग्राहीहरु मर्कामा परेका छन ।

अहिले सम्म सामाजिक सुरक्षा भत्ता पाउनु पर्ने नागरिकहरुले सामाजिक सुरक्षा भत्ता समेत पाउन सकेका छैनन । वडा समयमै नखुल्दा सेवाग्राहीहरु काम नगरी फर्कीनु परेको स्थानीय झकेन्द्र शाहीले बताए । वडामा कोही कर्मचारी पनी नहुने भएको कारणले दैनिक जसो सेवाग्राहीले दुख भोग्नु परेको उनको गुनासो छ ।

शाहीले जन्मदर्ता नागरिकताको सिफारिसका लागि दुई दिनदेखि वडा कार्यालय धाउँदा समेत काम नभएको गुनासो गरे । उनले भने जन्मदर्ता र सिफारिसका लागि वडा कार्यालय आएको आज २ दिन भयोे, कर्मचारी नभेटेपछि कामै नगरी फर्किनुपर्ने बाध्यता छ ।

उनले वडाबाट जन्मदर्ता र नागरिकताको सिफारिस नपाउँदा समस्यामा परेको दुखेसो पोखे । यस्तै सोही ठाउँका अर्का एक जना स्थानियले वडामा कर्मचारी नभेट्दा कुनैपनि सरकारी सेवा सहज रुपले लिन समस्या हुने गरेको बताए ।
व्यक्तिगत घटना दर्ता, सिफारिस, स्वास्थ्य सेवा लगायत आवश्यक सेवा लिन आउने सर्वसाधारणहरु हैरान हुने गरेको उनले बताए ।

गाउँपालिकाले एकै पटक करार कर्मचारी हटाउने निर्णय गर्दा सेवाग्राहीहरुले अनावश्यक दुख पाएको उनको भनाइ छ । यता गाउँपालिका अध्यक्ष शेर बहादुर शाहीले करार कर्मचारी हटाउँदा सेवा प्रवाहमा कुनै प्रकारको बाधा उत्पन्न नभएको दावी गरेका छन । अध्यक्ष शाहीका अनुसार गाउँपालिकामा कार्यरत १ सय ६ जना करार कर्मचारीहरुलाई हटाएको छ ।

दर्शन खबरसङ्ग कुरा गर्दै गाउँपालिका अध्यक्ष शाहीले करार कर्मचारी मध्येबाट केही दिनमा कार्यसम्पादन मूल्यांकन फारम भरि योग्य कर्मचारीहरुलाई निरन्तरता दिने तथा बाँकी कर्मचारीलाई हटाउने बताए । कार्यपालिकाको बहुमतले करार कर्मचारीको म्याद नथप्ने निर्णयलाई गाउँसभाबाट पारित गरिएको अध्यक्ष शाहीले जानकारी दिए ।

यस्तै वडा नम्वर ५ का वडा अध्यक्ष गोपाले दमाईले वडा कार्यालयबाट प्रवाह हुने सेवा प्रभावित भएको स्वीकार गर्दै कर्मचारी अभावका कारण सेवा प्रभावित भएको बताए । सेवा कार्यालयको सेवा नियमित बनाउन वडा कार्यालय लागिरहेको वडा अध्यक्ष दमाईको भनाई छ ।

 


तपाईको प्रतिक्रिया