नेपालगञ्ज – खजुरा गाउँपालिकाका करार कर्मचारीलाई नहटाउन अदालतले अन्तरिम आदेश दिएको छ।
खजुरा गाउँपालिकाका आठ जना कर्मचारीले दायर गरेको रिटमा बुधबार सुनुवाइ गर्दै उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका न्यायाधीशद्वय केशवराज जोशी र टंक गुरुङको इजलासले करार कर्मचारीलाई पूर्ववत् काममा लगाउन आदेश दिएको हो।
खजुरा गाउँपालिकाले वर्षौँदेखि करारमा रहेकासहित ६० जना कर्मचारीको म्याद नथप्ने निर्णय गरेको थियो। तत्कालीन जिल्ला विकास समिति, गाउँ विकास समितिबाट आएका समेत कर्मचारीलाई हटाउने निर्णय भएपछि करार कर्मचारी अदालत पुगेका थिए।
करार कर्मचारीका तर्फबाट वरिष्ठ अधिवक्ता भोलासिंह हमाल, अधिवक्ता ध्रव बस्याल र विकास आचार्य तथा गाउँपालिकाको तर्फबाट कानूनी सल्लाहकार तीर्थ ज्ञवालीले बहस गरेका थिए।
बर्दिया ठाकुरबाबा नगरपालिकाका ६ जना कर्मचारीले पनि नेपालगञ्जस्थित अदालतमा मुद्दा दायर गरेका छन्। उनीहरुको विषयमा पनि अदालतले आइतबारसम्मका लागि अल्पकालीन आदेश दिएको छ।देशसञ्चार


दर्शन खबर । १८ श्रावण २०७९, बुधबार