सुर्खेत / अस्पताल जाने सडक नहुँदा डोल्पाको सदरमुकाम दुनैमा रहेको जिल्ला अस्पतालमा समस्या हुँदै आएको छ। सडकको पहुँच नभएपछि भेरी नदीको पारिपट्टि नै एम्बुलेन्स रोकेर स्ट्रेचरमा बिरामी राखेर लैजानुपर्ने बाध्यता रहेको छ।
पुल नहुँदा अस्पतालसम्म एम्बुलेन्स नजाने भएकाले बिरामीलाई घुमाउरो बाटोबाट आधा घन्टा समय खर्चनु पर्ने बाध्यता रहेको छ। अहिले प्रयोग भइरहेको बाटो घुमाउरो र साँघुरो भएकै कारण अस्पताल नपुग्दै बिरामीको ज्यान जाने गरेको छ।
सदरमुकामस्थित लामा लोटे या कालिका मन्दिर आसपासबाट बेलिब्रिज बनाएर बिरामी बोकेको एम्बुलेन्स सीधै अस्पतालसम्म पुर्याउन सकिने भए पनि पुल निर्माणका लागि अहिलेसम्म कसैले पनि चासो नदेखाएको अस्पताल र स्थानीयको गुनासो छ।
बजारको झोलुंगे पुलसम्म मात्र मोटरबाटो भएकाले त्यहाँसम्म एम्बुलेन्सले बिरामी ल्याउँछ। त्यसपछि बिरामी बीच बाटोमै अलपत्र पर्ने गरेका छन्। कहिलेकाहीँ बिरामीलाई स्ट्रेचरमा बोकेर अस्पतालसम्म लैजान मान्छे नपाउँदा बिरामीले बाटोमै ज्यानसमेत गुमाउने गरेको स्थानीयबासी बताउँछन्।
पुल नभएकै कारण अस्पताल पुर्याउन ढिला हुँदा दुई साताअघि एक बालकले बीच बाटोमै ज्यान गुमाउनुपरेको जिल्ला अस्पतालका डाक्टर अखण्ड उपाध्यायले बताए।
‘गाडी छुटेदेखि अस्पतालसम्म पुग्ने बाटो घुमाउरो र जोखिमपूर्ण छ। ती बालकलाई समयमै अस्पताल ल्याउन सकेको भए ज्यान जोगिन सक्थ्यो,’ डाक्टर उपाध्यायले भने, ‘कतिपय गर्भवती महिला बीच बाटोमै सुत्केरी हुने गरेका छन्। पुलका लागि धेरै ठाउँमा गुहारियो, तर कसैले पनि कुरा सुनेनन्।’ थाहा


दर्शन खबर । १८ श्रावण २०७९, बुधबार