रुकुम पश्चिम : झडपमा घाइते भएका युवकलाई हेलिकप्टरबाट सुर्खेत ल्याइयो

रुकुम पश्चिम – रुकुम पश्चिमको आठबीसकोटमा झडपमा घाइते भएका युवकलाई उपचारका लागि हेलिकप्टरबाट सुर्खेत ल्याइएको छ । आज आइतवार दिउँसो आठबीसकोट नगरपालिका ९ राडी बजारमा भएको झडपमा घाइते भएका आठबीसकोट ११ का निलकमल शाहलाई हेलिकप्टरबाट सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

प्रहरीका अनुसार राडी बजारमा फेन्सी पसल सञ्चालन गर्दै आएका शाह र अन्य दुई युवाबीच आइतवार दिउँसो ४ बजेतिर झडप भएको हो ।घाइते शाहलाई नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) विष्णुप्रसाद सोतीले जानकारी दिनुभयो । उहाँका अनुसार शाहको टाउकोमा गम्भीर चोट लागेको छ । आठबीसकोटको नगर अस्पतालमा सामान्य उपचार गरेर थप उपचारका लागि शाहलाई सुर्खेत पठाइएको हो ।

शाहलाई आक्रमण गरेको आरोप लागेका आठबीसकोट ९ का २१ वर्षीय पवन बटाला र २३ वर्षीय हरि केसी फरार रहेका डीएसपी सोतीले बताउनुभयो । व्यक्तिगत कारणले झडप भएको बताइए पनि घटनाको वास्तविक कारण खुल्न सकेको छैन । फरारहरूको खोजी र घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी सोतीले बताउनुभयो ।उज्यालो


तपाईको प्रतिक्रिया