कर्णालीमा बनेका तटबन्ध भत्किँदा बस्ती जोखिममा

कैलाली । हरेक वर्ष कर्णाली नदीले धार परिवर्तन गर्दा यहाँका तटीय क्षेत्रका नागरिकलाई समस्या हुन थालेको छ । नदीले बर्सेनि नदीको धार परिवर्तन गर्दै आएको छ । जसले नदी नियन्त्रणका लागि रानी जमरा कुलरिया सिँचाइ आयोजनाले निर्माण गरेका वा निर्माणाधीन अवस्थामा रहेका तटबन्ध नै भत्काउन थालेको छ ।
नदीको वहावले तटबन्ध नै भत्काउन थालेपछि टीकापुर नगरपालिकाको तटीय क्षेत्रका नागरिक मनसुन अवधिभर त्रासमा बाँच्ने गरेका छन् । तीन दिनदेखि मनसुन सक्रिय भएको छ । नदीले कटानसमेत तीव्र पारेपछि यहाँका नागरिक रातिको समयमा राम्ररी निदाउन नसकेको बताउँछन् । टीकापुर–५ का सुन्दर थारुले टीकापुर पार्कको उत्तरतर्फ कर्णाली नदी कटान भइरहेकाले त्रास बढेको बताए ।
टीकापुर नगरपालिका–५ स्थित टीकापुर पार्कको पूर्वीउत्तरतर्फ भैरवनाथ मन्दिरको नजिकै कर्णाली नदीले कटान तीव्र बनाएको छ । त्यहाँ नदी नियन्त्रणका लागि बनाएका स्पर तथा तटबन्धलाई भत्काउन थालेको छ । कर्णालीले तटबन्ध र स्पर भत्काउन थालेपछि यहाँका नागरिकमा त्रास बढेको टीकापुर–५ बङ्गलापुरका चुनकानु थारुले बताए ।
कर्मीडाँडाका सिंहराज बुढामगर पनि मनसुनको समयमा बढी वर्षा हुने बित्तिकै निकै चिन्ता लाग्ने गरेको बताँछन् ।
नुक्लीपुरका दुजबहादुर दर्लामीमगर भने कटानको जोखिम रहेका ठाउँमा बृहत र समयमै तटबन्ध बनाएको भए बस्ती सुरक्षित हुने बताउँछन् ।

 

वन क्षेत्रमा आठ वर्षदेखि निर्माणको ठेक्का पाएको सिद्धीसाइ कन्स्ट्रक्सनले काम सम्पन्न गर्न नसकेपछि सिँचाइ आयोजनाले ठेकेदारलाई कालोसूचीमा राखेर ठेक्का बदर गरेको छ । बाढीपीडित सङ्घर्ष समितिका संयोजक धनसिंह साउद यस वर्ष नदी कटान ठाउँ ठाउँमा भइरहेकाले थप जोखिम रहेको बताउँछन् ।

रानीजमरा कुलरिया सिँचाइ आयोजनाले अहिले पनि तटबन्धका काम गरिरहेको छ । तटबन्ध गरिरहे पनि नदीले हरेक वर्ष फरकफरक स्थानमा तटबन्ध भत्काउने गरिरहेका कारण समस्या भइरहेको रानी, जमरा कुलरिया सिँचाइ आयोजनाका प्रमुख केदारकुमार श्रेष्ठको भनाई रहेको छ ।
टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डङ्गौरा थारुले नदीको त्रासमा आफूहरु पनि रहेको बताउँदै प्रभावित क्षेत्रको अनुगमन गरी नगरपालिका आफैंले गर्न सक्ने ठाउँमा आफँैले काम गर्ने र नसकिने स्थानमा रानी, जमरा कुलरिया सिँचाइ आयोजनासँगको समन्वयमा कटान रोक्न पहल गर्ने योजना बनाएको बताए । रासस


तपाईको प्रतिक्रिया