नेपाल–भारत व्यापार – १२ खर्ब आयात, डेढ खर्बको निर्यात

 

काठमाडौँ । नेपालको वैदेशिक व्यापारमा दक्षिण छिमेकी मुलुक भारतको सबैभन्दा ठूलो हिस्सा ओगटेको छ । भन्सार विभागको तथ्यांकअनुसार भारत नेपालको सबैभन्दा ठूलो आयात र निर्यात साझेदार गन्तव्य हो । गत आर्थिक वर्ष २०७८÷७९ मा नेपालले भारतबाट १२ खर्ब १५ करोडको आयात र १ खर्ब ५५ अर्बको निर्यात गरेको छ ।
यो, नेपालको कूल वैदेशिक व्यापारको सबैभन्दा ठूलो हिस्सा हो । गत वर्ष नेपालको कूल वैदेशिक व्यापार २१ खर्ब २० अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । यसमध्ये नेपालमा कूल १९ खर्ब २० अर्ब ४४ करोडको आयात भएको छ । कूल आयातमध्ये भारतबाट भएको आयात मात्रै १२ खर्ब रुपैयाँभन्दा बढी देखिएको छ । नेपालले गत वर्षमा गरेको कूल आयातमा भारतबाट भएको आयात घटाउँदा जम्मा ७ खर्ब २० अर्ब २९ करोड रुपैयाँ हुन आउँछ ।
यसैगरी, नेपालले गत आर्थिक वर्षमा ब्यहोरेको १७ खर्ब २० अर्ब ४१ करोड रुपैयाँमध्ये भारतसँगको व्यापारमा सबैभन्दा ठूलो घाटा ब्यहोरेको छ । नेपालले भारतसँग मात्रै १० खर्ब ४४ खर्ब ९३ करोड रुपैयाँ व्यापारघाटा ब्यहोरेको छ । नेपालले गर्ने निर्यात र यसतर्फ हुने आयातबीच सन्तुलन नमिल्दा यति ठूलो घाटा ब्यहोरेको हो ।
वैदेशिक व्यापारमा नेपालको सबैभन्दा ठूलो साझेदार भारत हो । भारतको वाणिज्य मन्त्रालय मातहतको एक निकायले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपाल भारतको १० उत्कृष्ट निर्यात गन्तव्य मुलुक हो । अर्थात, भारतले विश्वभर सबैभन्दा धेरै निर्यात गर्ने १० मुलुकहरूको सूचीमा नेपाल पर्छ ।

सबैभन्दा ठूलो निर्यात गन्तव्य
नेपालले इतिहासमै पहिलो पटक २ खर्ब रुपैयाँभन्दा बढीको निर्यात गरेको छ । गत आर्थिक वर्षमा भएको यो निर्यात अहिलेसम्मकै उच्च बिन्दु हो । २ खर्ब ३० करोड रुपैयाँको कूल निर्यात हुँदा सबैभन्दा धेरै भारततर्फ निर्यात भएको विभागको तथ्यांकले देखाएको छ । भारततर्फ १ खर्ब ५५ अर्ब २२ करोड रुपैयाँको निर्यात भएको छ ।
विश्वका कूल १७१ वटा देशमा वैदेशिक व्यापार गर्दै आएको नेपालको आयात÷निर्यातको सबैभन्दा ठूलो साझेदार भारत हो । नेपालले गत वर्षमा गरेको कुल निर्यातमा भारतको हिस्सा हटाउँदा जम्मा ४५ अर्ब हुन आउँछ । यसको अर्थ भारत बाहेकका अन्य मुलुकमा नेपालले जम्माजम्मी ४५ अर्ब रुपैयाँको मात्रै निर्यात गर्छ । यसपछि, उत्तर छिमेकी मुलक चीनबाट सबैभन्दा धेरै आयात हुन्छ । गत वर्ष चीनबाट २ खर्ब ६४ अर्ब ७८ करोड रुपैयाँको आयात भएको छ । राताेपाटीबाट

तपाईको प्रतिक्रिया