सुर्खेत / संसदीय विशेष समितिले बिहीबार निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग बयान लिने भएको छ। समितिले आर्थिक वर्ष २०७९्८० को बजेट निर्माणका वेला अर्थ मन्त्रालयमा अनाधिकृत व्यक्तिको प्रवेश र त्यस समयको सीसीटीभी फुटेज हराएको विषयमा बिहीबार बिहान शर्मासँग सोधपुछ गर्न लागेको हो।
शर्मासँग बिहान साढे ८ बजे बयान लिने समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए। चालू आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने अघिल्लो राति मन्त्रालयमा बोलाइएका अनाधिकृत व्यक्तिमाथि छानबिन गर्नुपर्ने चौतर्फी दबाबबीच सभामुख अग्निप्रसाद सापकोटाले असार २२ गते ११ सदस्यीय छानबिन समिति गठन गरेका थिए।
अनाधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गर्न लगाएको आरोप लागेपछि शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए। समितिलाई काम सुरु गरेको १० दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको थियो, जुन शुक्रबार सकिँदैछ।
समिति गठन भएको ६ दिनपछि असार २८ गते मंगलबारबाट समितिले काम थालेको थियो। यसअघि समितिले मन्त्रालयका कर्मचारीको बयान लिनुका साथै त्यहाँको अवलोकनसमेत गरिसकेको छ।


दर्शन खबर । ५ श्रावण २०७९, बिहीबार