दैलेख डुङ्गेश्वर गाउँपालिकामा तालाबन्दी

सुर्खेत/ दैलेख डुङ्गेश्वर गाउँपालिकामा तालाबन्दी भएको छ । करारमा कार्यरत कर्मचारीलाई हटाएको भन्दै गाउँपालिकामा तालाबन्दी गरिएको हो ।
गाउँपालिकामा करारमा कार्यरत कर्मचारीहरूको करार सम्झौताको म्याद थप हुनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका कर्मचारीहरूले गाउँपालिकामा तालाबन्दी गरेका हुन् ।

करारका कर्मचारीलाई हटाउने निर्णय सच्चाउनुपर्ने माग राख्दै करारका कर्मचारी र नेपाली कांग्रेसले आन्दोलन थालेका हो । जागिरबाट हटाइएका करारका कर्मचारीहरूले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको डुङ्गेश्वर गाउँपालिका–२ का वडाध्यक्ष यामबहादुर विष्टले बताउनुभयो । करारका कर्मचारीहरूले आफ्नो मागहरू शान्तिपूर्ण ढंगबाट राख्न गाउँपालिका उपाध्यक्ष कलवती न्यौपाने आग्रह गर्नुभएको छ ।

उहाले करारमा कार्यरत कर्मचारीहरूको सम्झौता नवीकरण नगर्ने निर्णयविरुद्धको आन्दोलनलाई राजनीतिकरण गर्न खोजिएको बताउनुभयो । उहाले नेपाली काँग्रेसका नेताहरुले नै तालाबन्दी गर्न उस्काएको आरोप लगाउनुभयो । असार ३० गते बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णय नं। ३ अनुसार गाउँपालिकाबाट तलब भत्ता भुक्तानी हुने करारमा कार्यरत कर्मचारीहरूको साउन १ गतेबाट करार सम्झौता नविकरण नहुने भएको प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर डिसीले बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत डिसीका अनुसार सबै वडा कार्यालयमा कार्यरत बगैंचेहरू, वडा नम्बर ५ र ६ को कार्यालयमा कार्यरत सामाजिक परिचालकबाहेक अन्य सबै वडामा कार्यरत सामाजिक परिचालक, गाउँपालिकामा कार्यरत हलुका स्कर्पियो चालक एक जना, विद्यालय तर्फको गेटपाले, माध्यामिक विद्यालयमा रहेका महिला कार्यालय सहयोगी र कम्प्युटर शिक्षकको करार सम्झौता नवीकरण नहुने भएको हो ।

यस्तै गाउँपालिकामा कार्यरत पिटौली र फिल्ड सुपरपाइजर रकचना खानेपानी आयोजनामा कार्यरत पलम्बर र हेरालु र सामुदायिक स्वास्थ्य इकाई वडा नम्बर ४ मा कार्यरत अहेवको समेत करार सम्झौता नविकरण नहुने प्रमुख प्रशासकीय अधिकृत डिसीले बताउनुभयो ।
निर्णयअनुसार गाउँपालिकामा विभिन्न पदमा करारमा कार्यरत ४२ जना कर्मचारीहरूको करार सम्झौता नवीकरण नहुने देखिन्छ ।


तपाईको प्रतिक्रिया