भारतमा आज राष्ट्रपतिको चुनाव, मुर्मु र सिन्हा प्रतिस्पर्धामा

सुर्खेत / छिमेकी देश भारतमा आज राष्ट्रपतिका लागि चुनाव हुन लागेको छ। भारतका राष्ट्रपति रामनाथ कोभिन्दको कार्यकाल एक सातापछि अर्थात २४ जुलाईमा सकिँदै छ। त्यसअघि नै नयाँ राष्ट्रपति चयन गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार, आज चुनाव हुन लागेको हो।

राष्ट्रपतिका लागि दुई जना उम्मेदवार रहेका छन्। सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) ले द्रौपदी मुर्मुलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ। उनी झारखण्ड राज्यको पूर्वराज्यपाल पनि हुन्। उनले जितेमा भारतले पहिलो महिला राष्ट्रपति पाउनेछ।

कांग्रेससहित विपक्ष गठबन्धनबाट यशवंत सिन्हा राष्ट्रपतिको उम्मेदवार बनेका छन्। लामो समय भाजपाबाट राजनीति गरेका उनले प्रधानमन्त्री नरेन्द्र मोदीको विरोध गर्दै पार्टी छोडेका थिए। त्यसपछि कांग्रेसमा सहभागी भएका उनी पछिल्लो समय ममता बेनर्जी नेतृत्वका त्रिमूल कांग्रेसको उपाध्यक्ष थिए।

राष्ट्रपति चयनका लागि राज्यसभा र लोकसभाका सांसदले मत दिने व्यवस्था छ। राज्यको जनसंख्याका आधारमा सांसदको मतभार पनि फरकफरक हुन्छ। सबै गरेर राष्ट्रपति निर्वाचनका लागि

राष्ट्रपति चुनावमा कुल मतभार १० लाख ८० हजार १३१ रहेको छ। राष्ट्रपति चयन हुने पाँच लाख ४० हजार ६५ भन्दा बढी मतभार ल्याउनुपर्छ। भारतको लोकसभामा ५४० र राज्यसभामा २२७ सांसद छन्। उनीहरुको मतभार सात सयका दरले तीन लाख १३ हजार ६ सय हुन्छ।

त्यस्तै, भारतका सबै राज्यका विधानसभामा चार हजार ३३ सांसद छन्। उनीहरुको मतभार भने जनसंख्यामा आधारमा तय गरिन्छ। जस्तो धेरै जनसंख्या भएको उत्तरप्रदेशका सांसदको मतभार २०८ र कम जनसंख्या भएको सिक्कीमका सांसदको मतभार सात रहेको छ।

सबै गरेर विधानसभाका सांसदको मतभार पाँच लाख ४३ हजार २३१ रहेको छ। आज हुने चुनावको मतगणना भने तीन दिनपछि २१ जुलाइमा हुनेछ।


तपाईको प्रतिक्रिया