महिनामा १ दिन विद्युतीय रिक्सा चढेर इन्धन खपत कम गर्ने नेपालगञ्जका मेयरको लक्ष्य

सुर्खेत / नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट आज आइतवार नेपालगञ्ज विमानस्थलबाट अटो रिक्सामा कार्यालय फर्किनुभयो । उपमहानगरको कार्यालयबाट झन्डै ६ किलोमिटरको दुरीमा रहेको विमानस्थलबाट उहाँ विद्युतीय अटो रिक्सामा फर्कनुभएको हो ।

इन्धन खर्चमा मितव्ययिता कायम गर्ने उद्देश्यले मेयर विष्ट आज विद्युतीय अटो रिक्सा र पैदलै विभिन्न ठाउँमा पुग्नुभयो । एक दिन भए पनि इन्धन खर्च कम गर्ने उद्देश्यले हरेक महिनाको १ गते अत्यावश्यकबाहेक इन्धन प्रयोग हुने गाडीको प्रयोग नगर्न उहाँले नगरवासीमा आग्रह गर्नुभएको छ ।

नेपालगञ्जको वार्षिक नीति तथा कार्यक्रममा हरेक महिनाको १ गते जनप्रतिनिधि र कर्मचारीले इन्धन प्रयोग हुने गाडीको प्रयोग गर्ने छैनन् भनेर उल्लेख छ । नगर सभाको निर्णयको कार्यान्वयन गर्न मेयर विष्ट आज १ गते विद्युतीय अटो रिक्सामा चढ्नुभएको हो ।

महिनामा १ दिन भए पनि अत्यावश्यकबाहेक गाडीको प्रयोग नगर्ने हो भने पनि इन्धन खपत कम गर्न सकिने भन्दै मेयर विष्टले यो निर्णयमा साथ दिन उपमहानगरवासीसँग आग्रह गर्नुभयो ।


तपाईको प्रतिक्रिया