
सुर्खेत । सुर्खेतका ७४ प्रतिशत उम्मेदवारले चुनावी खर्च नबुझाएको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ । २०७९ बैशाख २९ गते भएको स्थानीय तहको चुनावमा भाग लिएका नौ स्थानीय तहका २ हजार ८४ जना उम्मेदवारमध्ये २६ प्रतिशतले मात्र चुनावी खर्च बुझाएका हुन् ।
प्रदेश निर्वाचन कार्यालय सुर्खेतका अुसार २ हजार ८४ मध्ये चुनावी खर्च बुझाउने ५ सय ५२ जना उम्मेदवार रहेका छन् ।
प्रदेश निर्वाचन कार्यलयले पटक-पटक निर्वाचन खर्च बुझाउन उम्मेदवारहरूलाई ताकेता गरेता पनी निर्धारित मितिसम्म मात्र २६ प्रतिशत उम्मेदवारहरुले चुनावी खर्च बुझाएको प्रदेश् निर्वाचन कार्यालय सुर्खेतका सुचना अधिकारी निर्मला रेग्मीले जानकारी दिईन् ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ र नियमावली २०७३ को ढाँचामा उम्मेदवारले चुनावको परिणाम घोषणा भएको मितिले ३० दिनभित्र आफ्नो चुनावी खर्च जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा बुझाउनुपर्ने कानुनी प्रावधान छ ।
सूचना अधिकारी रेग्मीका अनुसार सुर्खेतमा हालसम्म चौकुने गाउँपालिकाबाट २०, चिङ्गाड गाउँपालिकाबाट ३३, सिम्ता गाउँपालिकाबाट ३६, बराहताल गाउँपालिकाबाट ९९ जना उम्मेदवारले चुनाव खर्च बुझाएका छन् ।
त्यस्तै गुर्भाकोट नगरपालिकाबाट १२, भेरीगंगा नगरपालिकाबाट ५७, पञ्चपुरी नगरपालिकाबाट ६६, वीरेन्द्रनगर नगरपालिकाबाट ११२ र लेकवेशी नगरपालिकाबाट ११६ उम्मेदवारले निर्वाचन खर्च प्रदेश निर्वाचन कार्यालयमा बुझाएका छन् ।
जिल्ला समन्वय समिति सुर्खेतको एक जना उम्मेदवारले चुनाव खर्च बुझाएका छन् ।


दर्शन खबर । २६ असार २०७९, आईतवार