जुम्लाका १४ उत्कृष्ट किसान पुरस्कृत

सुर्खेत / जुम्लाका १४ जना उत्कृष्ट किसान पुरस्कृत भएका छन् । कृषि तर्फका ७ र पशुपंक्षी पालनतर्फ ७ गरी १४ जना किसान मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत भएका हुन् ।

उत्कृष्ट किसानलाई शुक्रवार एक कार्यक्रमबीच प्रमाणपत्र तथा नगद पुरस्कार वितरण गरिएको छ । जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्य र प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईँले पुरस्कार वितरण गर्नुभएको हो ।

पुरस्कारले व्यवसाय प्रतिको जिम्मेवारी बढाएको र हौसला प्राप्त भएको तातोपानी ४ की पुरस्कृत किसान गङ्गादेवी उपाध्यायले बताउनुभयो । तातोपानी गाउँपालिकाकी पूर्व उपाध्यक्ष समेत रहेकी उपाध्यायले अनुदानमुखी भन्दा पनि किसान उत्पादनमुखी र आत्मनिर्भर हुनु पर्नेमा जोड दिनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले सम्मान तथा पुरस्कारले किसानलाई हौसला प्राप्त हुने र उत्पादन वृद्धिमा टेवा पुग्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईँले कृषिमा युवा आकर्षण बढ्दो क्रममा रहेकोले स्थानीय तहलाई युवामैत्री नीति निर्माणमा जोड दिन सुझाव दिनुभयो ।

जिल्ला कृषि विकास कार्यालय र पशु अस्पताल तथा पशु सेवा कार्यालयको संयुक्त आयोजनामा ७ जना पशुतर्फ र ७ जना कृषि तर्फका उत्कृष्ट १४ जना किसानलाई पुरस्कृत गरिएको पशु सेवा कार्यालय जुम्लाका प्रमुख गोविन्द महतले जानकारी दिनुभयो ।

वास्तविक किसान नछुट्ने गरी, नक्कली किसान नपर्ने गरी र पहिला पाएका किसान नदोहोरिने गरी कार्यविधि मापदण्ड अनुसार छनोट गरिएको जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश बहादुर अधिकारीले बताउनुभयो ।रेडियो नेपाल


तपाईको प्रतिक्रिया