हुम्लाको नाम्खा गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर

सुर्खेत  / हुम्लाको नाम्खा गाउँपालिका–३ को खगालगाउँबाट गएर खर्कमा बस्दै आएकालाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

खर्कालुमा बसेका ज्येष्ठ नागरिकलाई आयुर्वेदिक विधिबाट निःशुल्क उपचार गरिएको छ । ६० वर्षमाथिका नागरिकलाई उपचारमा सहज होस् भन्दै खर्कमा स्वास्थ्यकर्मी पुगेर शिविर सञ्चालन गरी उपचार गरिएको हो ।

आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त प्रमुख विराज कृष्णचन्द्र जोशीका अनुसार ज्येष्ठ नागरिकलाई टाढा जान पनि कठिन हुने भएका कारण उहाँहरू बस्ने स्थानमै पुगेर उपचार गरिएको हो ।

शिविरबाट १०९ जना ज्येष्ठ नागरिकले सेवा लिएका थिए । शिविरमा विशेष गरी बाथ, दम, अम्लपित्त, छालाको रोग, ज्वरो आउने र दिसापिसाबसम्बन्धी रोगको उपचार गरिएको जनाइएको छ ।


तपाईको प्रतिक्रिया