सल्यान जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान

सुर्खेत / सल्यान जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ । फिलिङ सिस्टम सहितको प्लान्टबाट ४० लिटर क्षमताको सिलिन्डर दैनिक ४० देखि ४८ थान भर्न सकिने छ ।

यसअघि जिल्लामा अक्सिजन प्लान्ट नहुँदा खाली सिलिन्डर रिफिल गर्नको लागि दाङ, नेपालगन्ज र सुर्खेत जानुपर्ने बाध्यता थियो । जिल्लामा अक्सिजन प्लान्ट जडान गरेसँगै सिलिन्डर रिफिल गर्न अन्य जिल्ला जानु पर्ने बाध्यता हटेको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ कुमार श्रेष्ठले बताउनुभयो ।

अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन गर्न थालेपछि सल्यानसँगै छिमेकी जिल्ला रोल्पा तथा रुकुमका नागरिकलाई समेत सहजता हुने र अब जिल्लामा अक्सिजन नपाएर कसैले पनि ज्यान गुमाउनु नपर्ने अस्पतालले जनाएको छ ।

प्लान्टबाट पाइप लाइनबाट बेडमा अक्सिजन जडान गरिनु साथै छुट्टै सिलिन्डर पनि भर्न सकिने श्रेष्ठको भनाई छ । अस्पताल विकास समितिका अध्यक्ष चन्द्र प्रकाश वलीले जडान गरिएको प्लान्टबाट अस्पतालमा अक्सिजन अभाव नहुने बताउनुभयो ।

अस्पतालमा रोल्पा र रुकुमका धेरै बिरामी उपचारका लागि आउने गरेका छन् । अस्पतालमा दैनिक १ सय ५० देखि २ सय जनासम्म बिरामीहरू उपचारका लागि आउने गरेको डा। अभिषेक सिंहको भनाई छ । संघीय सरकारको ७१ लाख बजेटबाट अक्सिजन प्लान्ट जडान गरिएको हो ।


तपाईको प्रतिक्रिया