सुर्खेत / कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री पदमबहादुर रोकायाले सुर्खेतस्थित यातायात कार्यालयमा आकस्मिक अनुगमन गरेका छन् ।
बिहीबार बिहान कार्यालय समयमा मन्त्रालयको सानो टोली लिएर यातायात कार्यालय पुगेका मन्त्री रोकायाले सेवाग्राहीलाई आफ्नो परिचय नदिईकनै सेवाको गुणस्तर र भोग्नुपरेको समस्याबारे जानकारी लिएका थिए ।
मन्त्री रोकाया यातायात कार्यालय पुग्दा सेवाग्राहीको बाक्लै उपस्थिति थियो । कर्मचारीहरू आफ्नै सुरमा काम गरिरहेका थिए । त्यस अवसरमा मन्त्री रोकाया आफैँ विभिन्न फाँटमा पुगेर निरीक्षण गरेका हुन् ।
निरीक्षणका क्रममा दुईजना कर्मचारी आफूखुशी बिदामा बसेको पाइयो मन्त्रालयलेको सचिवालयले जनाएको छ । त्यसै कारण कार्यालयका कतिपय फाँटमा काम गर्ने कर्मचारी पनि भेटिएनन् भने कर्मचारीहरू सरकारी पोशाक र परिचयपत्र नलगाई कार्यालय आउने गरेकोसमेत पाईएको जनाईएको छ ।
सेवाग्राहीलाई सहज ढंगले सेवा प्रदान गर्न कानुनी रुपमा भएका झन्झट, उपलब्ध साधन स्रोतको पहुँच र सेवाग्राहीको चापको विषयमा र सेवाग्राहीसँग समस्याबारे पनि मन्त्री रोकायाले जानकारी लिएका छन्
मन्त्री रोकायाले जनभावना बुझेर सेवा दिन कर्मचारीलाई निर्देशन समेत दिए। सेवा प्रवाहमा कानुनी जटिलता भए प्रदेश सरकार त्यसलाई संशोधन गर्न पनि तयार रहेको बताउँदै सेवाग्राहीलाई सहज हुने गरी समयमै काम गर्न कर्मचारीलाई निर्देशन दिएका हुन्।
यस्तै, यातायात व्यवस्था कार्यालयका प्रमुख आनन्द चपाईले सेवाग्राहीको चाप अत्यधिक हुने गरेको तर आफूहरूले सकेसम्म छिटो र छरितो ढंगको सेवा दिने प्रयास गरेको बताए। उनले कार्यालयभित्र दलालहरूलाई प्रवेशमा रोक लगाइएको मन्त्री रोकायालाई जानकारी गराए ।नेपाली रैबार


दर्शन खबर । २३ असार २०७९, बिहीबार