सूचना प्रवाहमा कन्जुस्याइँ नगर्न प्रमुख जिल्ला अधिकारीको निर्देशन

सुर्खेत / सुर्खेतका विभिन्न सरकारी कार्यालयहरूका सूचना अधिकारीहरूले लिखित भन्दा मौखिक रुपमा सूचना प्रदान गर्ने गरेको बताएका छन् ।

आज जिल्ला प्रशासन कार्यालयमा आयोजित सूचना अधिकारीहरूको बैठकमा उनीहरूले सञ्चारकर्मी, सर्वसाधारण लगायत सूचना अभियन्ताहरूलाई सहजताका लागि मौखिक रूपमै सूचना प्रदान गर्ने गरेको बताएका हुन् ।

बैठकमा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले मौखिक रूपमै दिएको सूचनाको पनि तथ्याङ्क राख्न निर्देशन दिँदै लिखित रुपमा माग गर्न आएमा सहज भए पनि मौखिक रुपमा दिँदा तथ्याङ्क राख्न सके प्रतिवेदन सजिलो हुने हुँदा कानुनमा उल्लेख भएको दिन नमिल्ने बाहेक अन्य सूचनाहरू उपलब्ध गराउन निर्देशन दिनुभयो ।

उहाँले सूचनाहरू सार्वजनिक गर्दा कार्यालयमा पारदर्शिता बढ्ने, सेवाग्राहीले बढी विश्वास गर्ने र सुशासन कायम गराउन सहज हुने भएकोले सूचना प्रवाहमा कन्जुस्याइँ नगर्न आग्रह गर्नुभयो ।

जिल्लाका दुई दर्जन सरकारी कार्यालयका सूचना अधिकारीहरूको सहभागिता रहेको बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेले सूचनाको हक, राष्ट्रिय सूचना आयोगको काम, कर्तव्य र अधिकारको बारेमा प्रस्तुति प्रस्तुत गर्नुभएको थियो ।

पत्रकार महासङ्घ सुर्खेतका अध्यक्ष ललित बसेलले सूचना अधिकारीहरूलाई पूर्ण अधिकारसहितको सूचना प्रदान गर्न आग्रह गर्नुभयो । सूचना अधिकारी र पत्रकारहरूबिच समन्वय राम्रो हुन सके सही सूचना बाहिर आउने र त्यसको प्रभाव राम्रो हुने उहाँको भनाइ छ ।

बैठकमा लिखित रुपमा सूचना माग गर्न आउनेको सङ्ख्या नगण्य हुँदा धेरैजसो मौखिक रूपमै सूचना दिने गरिएको सूचना अधिकारीहरूले बताउनुभयो । केही सञ्चारकर्मीहरूले खोजी समाचारका लागि लिखित रुपमा सूचना माग गर्ने गरे पनि धेरैजसोलाई मौखिक रूपमै सूचना प्रदान गर्ने गरिएको उनीहरूको भनाइ थियो ।


तपाईको प्रतिक्रिया