सुर्खेतको पञ्चपुरीमा सुख्खा पहिरोमा परेर महिलाको मृत्यु

सुर्खेत / पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका लामागडाको डुब्रिखोलामा आज बिहान आएको सुख्खा पहिरोमा पुरिएर एक महिलाको मृत्यु भएको छ ।

पहिरोमा पुरिएर अछामको तुर्माखाद गाउँपालिका–६, रानीवनका ७८ वर्षीया अमृता जैशीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बाबियाचौरले जनाएको छ । अछामदेखि कैलाली पैदल जाने क्रममा पञ्चपुरी नगरपालिका–७, डुब्रिखोलाको लामागडा नजिकै गएको सुख्खा पहिरोमा परी अछामकै तुर्माखाद गाउँपालिका–६, रानीवनका ७२ वर्षीय रति कामी गम्भीर घाइते भएको ईप्रका बाबियाचौरका प्रहरी निरीक्षक टेकबहादुर देउवाले जानकारी दिनु भयो ।

उहाँले पहिरोमा पुरिएका मृतकको उद्धार गर्नुका साथै निधार र हातमा चोट लागेर गम्भीर घाइते हुनु भएका कामीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको बताउनु भयो ।

उहाँका अनुसार अछामको तुर्माखाद प्रहरी, छाप्रे प्रहरी र बाबियाचौर ईप्रकासँगै स्थानीय बासिन्दाको सहयोगमा मृतक र घाइतेको उद्धार गरिएको हो ।


तपाईको प्रतिक्रिया