दैलेखको भैरवी गाउँपालिकाकी अध्यक्ष शाहीले मागिन् माफी

सुर्खेत / दैलेखको भैरवी गाउँपालिकाकी अध्यक्ष रीताकुमारी शाहीले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर विक लगायतका कर्मचारीसँग माफी मागेकी छन् ।

उनले आफ्ना ठेकेदार पति बखतबहादुर शाहीको ७३ लाख भुक्तानी नगर्ने भए अरु कसैको भुक्तानी नदिन भन्दै आदेश दिएपछि प्रमुख प्रशासकीय अधिकृत विकले ७३ लाख गैरकानूनी रुपमा भुक्तानी दिन नसक्ने बताएका थिए ।

प्रमुख प्रशासकीय अधिकृत विकले गैरकानूनी भुक्तानी नदिन अडान लिएपछि अध्यक्ष शाहीले कर्मचारीलाई थर्काएकी थिइन् ।

‘आगामी दिनमा यसरी म कर्मचारीलाई थर्काउने छैन’, अध्यक्ष शाहीको भनाइ उद्धृत गर्दै भैरवीका एक कर्मचारीले नेपालप्रेसलाई भने, ‘पालिका उपाध्यक्ष देवी भण्डारीसमेत उपस्थित कार्यक्रममा त्यस्तो भनेपछि हामी काममा फर्किएका छौं ।’

प्रमुख प्रशासकीय अधिकृत विकले पनि आफू काममा फर्किएको बताए । ‘उहाँका श्रीमानको ठेक्काको भुक्तानी दिनेबाहेक अन्य काममा फर्किन अध्यक्षज्यूले अनुरोध गर्नुभयो । त्यहीअनुसार हामी आज काममा फर्किएका छौं’, उनले भने ।


तपाईको प्रतिक्रिया