घोरेटाको सूर्यज्योतिमामा पढाई उत्सव

सुर्खेत ।

सिम्ता गाउँपालिका वडा नम्वर १ को सूर्य ज्योति मावि सुन्तला घोरेटामा पढाई उत्सव कार्यक्रम मंगलबार सम्पन्न भएको छ । विद्यालयको शैक्षिक गुणस्तरबृद्धि गर्ने, शैक्षिक क्रियाकलापलाई रचनात्मक बनाउने, पठनपाठनमा शिक्षक, विद्यार्थी र अभिभावकको भूमिका बृद्धि गर्ने उद्देश्यले विद्यार्थी, शिक्षक र अभिभावकको संयुक्त सहभागितामा पढाई उत्सव गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य तथा संसदिय दलका सचेतक सिता नेपालीले विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्न पढाई महोत्सव महत्वपूर्ण रहेको बताईन । उनले भनिन ‘विद्यालयमा भएका शैक्षिक गतिविधिलाई समुदायका माझमा राख्दै शिक्षकहरुको भूमिका बृद्धि गरी विद्यार्थीको पठन पाठनमा सहजता, सक्रियता ल्याउन यो कार्यक्रम महत्वपूर्ण रहेको छ ।’
प्रदेश सभा सदस्य ठम्मर विष्टले विद्यार्थीको भौतिक, शैक्षिक विकासमा आफ्नो तर्फबाट सहयोग हुँदै आएको जानकारी दिए । पढाई महोत्सवमा सहभागि भएर विद्यालयको शैक्षिक अवस्थाका बारेमा जानकारी लिने अबसर प्राप्त भएको उनको भनाई थियो । विद्यालयको खेलमैदान निर्माणका लागि प्रदेशबाट १० लाख रकम विनियोजन गरी निर्माण कार्य अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । सोही अवसरमा निर्माणाधिन खेलमैदानको अनुगमन समेत गरिएको थियो ।
कार्यक्रममा नेकपा नेता डण्डी प्रसाद शर्मा, युवा परिषद् सुर्खेतका अध्यक्ष टेकेन्द्र कुमार बस्नेत, सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार केसी लगायतले बोलेका थिए । कार्यक्रम प्रदेश सभा सदस्य तथा सचेतक सिता नेपालीको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीर बहादुर बुढाको अध्यक्षतामा सम्पन्न भएको थियो ।


तपाईको प्रतिक्रिया