सुर्खेत / नेपालका ट्रेड युनियनहरूले श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार रूपैयाँ तोक्न माग गरेका छन्। पारिश्रमिक निर्धारण पुनरावलोकन समितिले बैठक तत्काल बोलाएर न्यूनतम पारिश्रमिक २५ हजार रूपैयाँ तोक्न ट्रेड युनियनहरूले माग गरेका हुन्। श्रम‚ रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय समितिको बैठक बोलाउने विषयमा मौन बसेको भन्दै ट्रेड युनियनहरूले श्रमिकको पारिश्रमिक निर्धारणमा आलटाल गरे आन्दोलन गर्ने चेतावनी दिएका छन्।
२०७६ सालमा श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि हुनुपर्नेमा आलटाल गरेर एक वर्षपछि २०७७ मा न्यूनतम पारिश्रमिक १५ हजार रूपैयाँ पुर्याइएको थियो। हरेक २र२ वर्षमा पुनरावलोकन हुनुपर्ने श्रमिकको न्यूनतम ज्याला साउन लाग्न लाग्दा बैठक नै बसेको छैन।
संयुक्त ट्रेड युनियन, रोजगारदाता र सरकारबीचको त्रिपक्षीय समितिको बैठक नबस्दा सरकारी कर्मचारीले बढेको तलब साउनदेखि पाउने भए पनि श्रमिक २ वर्ष अगाडिकै ज्याला लिएर काम गर्न बाध्य हुनुपर्ने देखिएको छ।
सत्तामा पुग्न श्रमिकलाई प्रयोग गर्ने राजनीतिक नेतृत्वले श्रमिकका माग सुन्न नचाहेको नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले बताए। उनले न्यूनतम ज्याला तोक्ने र सामाजिक सुरक्षा कोष कार्यान्वयनमा आलटाल गरिरहे देशव्यापी आन्दोलनमा उत्रने बताए।


दर्शन खबर । १६ असार २०७९, बिहीबार