सुर्खेत / सल्यानको एक कृषि सहकारीका प्रबन्धक ३५ लाख रुपैयाँ हिनामिना गरी बेपत्ता भएका छन । सल्यानको दार्मा गाउँपालिका ४ रातामाटामा रहेको भल्चौर महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडका प्रबन्धक हेमन्त ओली उक्त सहकारीको पैसा हिनामिना गरी बेपत्ता हुनुभएको हो ।
सहकारीका अध्यक्ष हरिकला मल्लले एक सूचना जारी गर्दै ओलीलाई उपस्थित भएर हिसाबकिताब बुझाउन आग्रह गरेकी छन्। सम्पर्क विहीन भएको भन्दै इलाका प्रहरी कार्यालय फारुलामा पनि उजुरी दिएको उनको भनाई छ ।
प्रबन्धक ओलीले ३५ लाख हिनामिना गरेको उनको भनाई छ ।
गत जेठ २६ गते बसेको सञ्चालक समितिको बैठकमा ओलीले पैसा हिनामिना गरेको स्वीकारेको र जेठ ३० गते उक्त रकम बुझाउने प्रतिबद्धता जाहेर गरेका थिए । तर भोलिपल्टदेखि सम्पर्क विहीन भएको अध्यक्ष हरिकलाले बताइन्। अहिले ओलीका सम्पूर्ण मोबाइल अफ भएको र कसैको सम्पर्कमा समेत नआएको उनले गुनासो गरिन्।
जेठ ३० गतेका दिन फोन सम्पर्क गर्दा बैठक बसाउँदै गर्नु म पैसा लिएर आउँदै छु भनेर उनी फोन स्वीच अफ गरेर सम्पर्क विहीन भएको सहकारी संस्थाले जनाएको छ । अहिलेसम्म सहकारी र परिवारको सम्पर्कमा नआएकोले हिजोे बसेको सञ्चालक समितिको पूर्ण बैठकले गाउँपालिका, वडा कार्यालय, साना किसान बैङ्क र निजको परिवारको समेत उपस्थितिमा निजलाई १ हप्ताभित्र सहकारीको सम्पर्कमा आएर हिसाब किताब बुझाउन अन्तिम म्याद दिइएको छ ।
७ दिनभित्र सम्पर्कमा नआएमा उनको चल अचल सम्पत्ति सहकारीको नाममा रोक्का गर्ने र उनलाई हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा प्रक्रिया अघि बढाउने अध्यक्ष मल्लले जानकारी दिनुभयो ।


दर्शन खबर । १५ असार २०७९, बुधबार