सल्यानको एक विद्यालयले अफिसमा राखेर विद्यार्थी पढाउदै

सुर्खेत / हावाहुरीले विद्यालयको छाना उडाएपछि सल्यानको एक विद्यालयमा विद्यालयको अफिसमा राखेर विद्यार्थी पढाउने गरिएको छ ।सल्यानको शारदा नगरपालिका ५ रानीकोटमा रहेको सरस्वती विद्या मन्दिर प्राथमिक विद्यालयमा हावाले विद्यालयको छाना उडाएपछि शिक्षक र विद्यार्थी एउटै कोठामा बस्दै आएका हुन ।

गत जेठ २८ गते आएको हावाहुरीले विद्यालयको दुई कोठे भवनको छाना उडाएपछि कक्षा कोठाको अभावमा विद्यार्थीलाई विद्यालयको कार्यालयमा राखेर पढाउनु पर्ने बाध्यता रहेको विद्यालयले जनाएको छ ।

कक्षा ३ मा पढ्ने विद्यार्थीलाई अफिसमै राखेर पढाउँदै आइरहेको विद्यालयको प्रधानाध्यापक मोहनलाल विष्टले बताउनु भयो । दिउँसो गर्मी धेरै हुने भएपछि खुला आकाशमुनि विद्यार्थीलाई राखेर पढाउन समस्या भएपछि अफिसमा राखेर पढाउँदै आइरहेको उहाँको भनाई छ ।

भवनको छाना राखिदिन माग गर्दै शारदा नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा पुगे पनि कुनै सुनुवाइ नभएको विद्यालय प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया