चट्याङ लागेर ३ जनाको मृत्यु, एक घाइते

सुर्खेत/ कैलाली र कञ्चनपुरमा चट्याङ लागेर ३ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

चट्याङ लागेर कञ्चनपुरको पुनर्बास नगरपालिका ६ टाउनबजार प्रतिभानगरका देवेन्द्र श्रेष्ठको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । श्रेष्ठको खेतमा कामगर्दै गर्दा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पुनर्बासका प्रमुख प्रहरी निरीक्षक नरेशराज मल्लले बताउनुभएको छ ।

त्यस्तै पुनर्बास नगरपालिका ८ मा चट्याङ लागेर सालिभान थापाकी श्रीमती शारदा थापा को समेत मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनको पनि खेतमा कामगर्दा गर्दै चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय पुनर्बासका प्रमुख प्रहरी निरीक्षक मल्लले बताउनुभएको छ ।

यसैगरी कैलालीको गोदावरी नगरपालिका ३ मालाखेतीमा रहेको रेडियण्ट ग्याँस कम्पनिको जमिनमा रोपाई गर्दै गर्दा कञ्चनपुर कृष्णपुर नगरपालिका(५ बस्ने वर्ष ४८ को पुनाराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक तीनै जनाको घटनाको मुचुल्का बनाएर पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाउने तयारी भैरहेको प्रहरीले जानकारी दिएको हो ।

यसैगरी चट्याङ लागेर बेलौरी नगरपालिका ९ का बाधुराम रानाकी श्रीमती बजलिया राना घाइते भएकी छिन् । उनको इसान अस्पताल गुलरियामा उपचार भैरहेको प्रहरीले जनाएको छ ।


तपाईको प्रतिक्रिया