विनोद मृत्यु प्रकरण – जिल्ला प्रशासन कार्यालय अछाम घेराउ

सुर्खेत – अछामको पंचदेवल विनायक नगरपालिकामा मृत भेटिएका विनोद शाहीको न्यायका लागि भन्दै शुक्रबार जिल्ला प्रशासन कार्यालय अछाममा घेराउ गरिएको छ ।

चरणबद्ध आन्दोलनको घोषणा गरेका ४ वटा राजनीतिक दल र आफन्तले संयुक्त रुपमा प्रदर्शन गर्नुका साथै प्रशासन कार्यालय घेराउ गरेका हुन् । जिल्ला प्रशासन कार्यालय घेराउ गर्दै प्रदर्शनकारीले किटानी जाहेरी दर्ता भएका व्यक्तिहरूलाई नियन्त्रणमा लिई अनुसन्धान गर्नुपर्ने माग गरेका थिए ।

अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनी, प्रहरी नायव निरीक्षक रविराज थपलियाको निलम्बनको माग गरेका उनीहरूले गृहमन्त्रीविरुद्ध समेत नाराबाजी गरेका थिए ।

विरोध सभामा बोल्ने वक्ताहरूले अछाम प्रहरी र प्रशासनले विनोद मृत्यु प्रकरणको अनुसन्धानमा ब्यवास्था गरेको दाबी गर्दै अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनी र प्रहरी प्रमुख रविराज थपलियाको चर्को आलोचना गरेका थिए । विरोध सभामा बोल्दै नेकपा एमाले पंञ्चदेवल विनायक नगरपालिकाका इन्चार्ज भीमबहादुर विष्टले अछाम प्रशासन निष्पक्ष ढङ्गले चल्न सक्दा अहिलेको परिणाम आएको आरोप लगाए्र ।

कार्यक्रममा बोल्दै अनेरास्ववियु अछामका अध्यक्ष नरेन्द्र बहादुर खड्काले अछाम प्रशासनको चरम लापरबाहीकै कारणले नाबालक विनोद शाहीको हत्या गरिएको आरोप लगाएका छन् ।

विनोदको हत्या भएको भन्दै बिभिन्न व्यक्तिका नाममा किटानी जाहेरी दर्ता गर्दा समेत उनीहरूलाई पक्राउ नगरेको भन्दै आफन्तसहित ४ वटा राजनीतिक दलले संयुक्त रुपमा चरणबद्ध सङ्घर्ष गर्दै आइरहेका छन् ।

वैशाख ३० गते सम्पन्न निर्वाचनको विषयमा जेठ १७ गते नगरपालिकाको वडा नम्बर ४ कालिका स्थानको कुच्चिमा विवाद भई प्रहरी गाउँमा पुग्दा बेपत्ता भएका १६ वर्षीय विनोद जेठ २१ गते नजिकैको कुच्ची भिरको खोँचमा मृत भेटिएका थिए । बेपत्ता भएको ५ दिन पछि भिरमा मृत भेटिएका विनोदको कांग्रेस कार्यकर्ताले हत्या गरेको आफन्त तथा अन्य राजनीतिक दलले आरोप लगाउँदै आएका छन् ।

विनोदको हत्या भएको दाबी सहित आफन्तले जेठ २१ गते देखी नगरपालिका कार्यालयमा तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण नगरबाट प्रदान हुने सेवा तथा सुविधाबाट आम नागरिक वञ्चित भइरहेका छन् ।


तपाईको प्रतिक्रिया