सुर्खेत – नेपाली काग्रेस केन्द्रीय उपसभापति पूर्णबहादुर खड्काले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
पूर्वी सुर्खेतको मेहेलकुनामा आज आयोजित स्थानीय तह निर्वाचनमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई, शुभकामना तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले व्यक्तिलाई केन्द्रमा नराखी पार्टीलाई जिताउने गरी आगामी चुनावको तयारीमा जुट्न आग्रह गरेका हुन् ।
उपसभापति खड्काले वडा, गाउँ र नगरपालिका कार्यालयमा आउने सेवाग्राही एवं मतदातालाई कुनै दुःख नदिन, अतिरिक्त लोभको अपेक्षा नगर्न र समयमै सेवा प्रवाह गर्न जनप्रतिनिधिलाई निर्देशन दिदै उनले भने, ‘यदि जनताको मन कुँडिने गरी क्रियाकलाप गर्नुभयो भने त्यसको असर पार्टी र आम कार्यकर्ताले भोग्नुपर्नेछ, मतदातालाई शिरमा राखेर नयाँ उर्जाका साथ काम गर्नुस । हिजोका गल्ती सुधारेर जानुस ।’
स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजकसमेत रहनुभएका खड्काले प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गरी सांगठनिक गतिविधि, जनताकाबीचमा प्रस्तुत हुने तरिका, बोली व्यवहार केन्द्रीत गर्नुपर्ने बताए ।
निर्वाचनमा पराजित पार्टीका उम्मेदवारलाई छायाँ प्रतिनिधिको रुपमा खबरदारी गर्न उहाँले आग्रह गरे । ‘हारेका व्यक्तिको भूमिका जितेको भन्दा बढी सक्रिय, खरो भूमिका निर्वाह हुनुपर्छ, तब जनताको मन जितिन्छ,अर्को चुनावमा सफलता हात मिल्नेछ’ उनले भने, ‘पार्टीका लागि हारेका व्यक्तिको जिम्मेवारी अझ बढी छ, निराश नभई अर्को निर्वाचनको तयारीमा जु्ट्नुस ।’
बधाई, शुभकामना तथा प्रशिक्षण कार्यक्रममा कांगे्रस प्रदेश सभापति ललितजंग शाही, जिल्ला सभापति खड्कबहादुर पोखरेल लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा उपसभापति खड्काले सुर्खेत क्षेत्र नं १ बाट निर्वाचित सबै तहका जनप्रतिनिधिलाई सम्मानपत्र प्रदान प्रदान गरेका थिए ।


दर्शन खबर । १ असार २०७९, बुधबार