सुर्खेत – सुर्खेतको भेरीगंगा नगरपालिका–४ मा लामखुट्टे भगाउने बालेको आगो सल्केर भैसीको मृत्यु भएको छ । हिजो साँझ साढे ७ बजेको समयमा लामखुट्टे भगाउने बालेको आगो सल्केर गोठ जल्दा भैसीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार भेरीगंगा नगरपालिका–४ भञ्ज्याङ का शेरबहादुर वलीको कच्ची गोठमा लामखुट्टे भगाउन बालेको आगोबाट गोठमा आगो सल्किएको थियो ।
उक्त आगलागीबाट गोठ पुर्ण रुपमा जली नष्ट भएको गोठभित्र रहेको एउटा भैसीको मृत्यु भएको छ भने एउटा भैसी जलेर घाइते भएको प्रहरीले जनाएको छ ।
यस्तै, गोठ भित्र रहेका ६ वटा लोकल कुखुरा पनि जलेर मृत्यु भएको प्रहरीको भनाई रहेको छ । गोठमा नयाँ घर बनाउन राखिएका सालको काठ जलेर नष्ट भएका छन भने करिब तिन लाख बराबरको क्षति भएको छ ।
प्रहरीले मानवीय क्षति नभएको जनाएको छ । उक्त आगो राती ८ बजेको समयमा प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा आएको थियो ।


दर्शन खबर । २८ जेष्ठ २०७९, शनिबार