रुकुम पश्चिम – दुई हप्तादेखि रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसीकोटमा खानेपानीको अभाव भएको छ । घरमा जोडिएको धारामा पानीको आपूर्ति कम मात्रामा हुँदा स्थानीयवासीले हैरानी खेप्नु परेको छ ।
मुसीकोटको खलङ्गा बजार, पातुखोला, बागबजार, सेरीगाउँ, ढिकीच्याउँ लगायतका क्षेत्रमा पानीको आपूर्ति नहुँदा नागरिकले समस्या झेल्दै आएका छन् । घरमा जोडिएको धारामा पानी आउन छोडेको भन्दै यहाँका नागरिकले गुनासो गरेका छन् । स्थानीय गोकर्ण खड्काले आधारभूत आवश्यकताको रुपमा रहेको खानेपानी नागरिकले सहज रुपले पाउन नसकेको बताउनुभयो ।
उहाँले केहीदिनयता पानीको मुहानमै पुगेर पानी बोक्नुपर्ने बाध्यता रहेको बताउनुभयो । पानीको सही व्यवस्थापन र समान वितरण नहुँदा कतिपय धाराहरुमा पानी निरन्तर बगिरहने र कतिपय धाराहरुमा पानी नै नआउने समस्या रहेको छ ।
त्रिभुवन जनता माध्यमिक विद्यायलमा अध्ययनरत छात्रा जमुना रावलले दिनमा एकैछिन मात्रा धारामा पानी आउने गरेको बताउनुभयो । ‘पालो कुर्दाकुर्दै धारा सुकिहाल्छ’, रावलले भन्नुभयो, ‘पिउनलाई पनि पानी पुगेको छैन, नुहाउन र कपडा धुन त झन् समस्या छ ।’
सरोकारवाला निकायले दुई हप्तासम्म पनि पानीको आपूर्तिमा ध्यान नदिएको स्थानीयको छ । होटेल व्यवसायी डम्मर केसीले पानीको अभाव हुन थालेको दुई हप्ता हुँदा पनि समस्या समाधानतर्फ कोही नलागेको जनाउनुभयो । उहाँले सुक्खायाम नलाग्दै यसरी पानी पाउनबाट वञ्चित भएको बताउनुभयो ।
मुसीकोटमा पानी वितरणको जिम्मा लिएको मुसीकोट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष टोपराम नेपालीले मुहानबाट नै पानी कम आएकाले समस्या भएको बताउनुभयो । उहाँले समितिका पदाधिकारी र कर्मचारीहरु पानीको मुहानमै पुगेर समस्या समाधानमा केन्द्रित भएको उल्लेख गर्नुभयो । साँखको पानाखोला मुहानबाट मात्र पानी आइरहेको तर अन्य चार ओटा मुहानबाट पानी कम आएकोले खलङ्गा र आसपासमा पानीको अभाव हुन पुगेको अध्यक्ष नेपालीले बताउनुभयो ।
टिमुर खोला, सिजडी खोला, घ्यू खोला र टुनीबोट मुहानबाट पानी कम आएकोले समस्या पत्ता लगाएर समाधान गर्न लागेको उहाँले स्पष्ट पार्नुभयो । पानीको मुहानहरुमै पुगेर काम गरिरहेकोले एकरदुई दिनमै पानी अभावको समस्या समाधान हुने उहाँले बताउनुभयो। उज्यालो अनलाइन


दर्शन खबर । २६ जेष्ठ २०७९, बिहीबार