सुर्खेत— काठमाडौंको टेकुस्थित कनक पेट्रोल पम्पको ट्यांकी वेल्डिङ गर्ने क्रममा ग्यास विस्फोट हुँदा दुई जना घाइते भएका छन् । पर्साको जगन्नाथपुर गाउँपालिका ३ स्थायी घर भई हाल कालिमाटी बस्दैआएकी किशोरी साह र सोही स्थानका दिपक साह घाइते भएका हुन् ।
विस्फोटका कारण उनीहरूको हात, खुट्टा र अनुहार जलेको छ । घाइते ३० वर्षीया किशोरी र १८ वर्षीय दिपक कुमार साहको अहिले वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
कालिमाटी प्रहरी वृत्तका डीएसपी अनिल घिमिरेका अनुसार पेट्रोल पम्पको मट्टीतेल स्टोर गरिएको ट्यांकीमा ग्यास वेल्डिङ गर्ने क्रममा विस्फोट भएको हो । वेल्डिङ गर्ने क्रममा विस्फोट हुँदा उक्त ट्यांकीको ढकन नै उडाएको बताइएको छ ।
घटनास्थलमा अहिले प्रहरी टोली पुगेको छ । साथै उक्त घटनाबारे अनुसन्धान गरिने डीएसपी घिमिरेले कान्तिपुरलाई बताए ।


दर्शन खबर । २२ जेष्ठ २०७९, आईतवार