हुम्लामा निर्वाचनमा खटिएर उत्कृष्ट काम गर्ने कर्मचारी सम्मानित

हुम्ला – मतदान केन्द्रदेखि जिल्लामा स्थानीय तह निर्वाचन ०७९ मा खटिएर उत्कृष्ट काम गर्ने कर्मचारीलाई सम्मान गरिएको छ।

निर्वाचनमा खटिने कर्मचारीलाई सम्मानस्वरुप जिल्ला प्रशासन कार्यालयले सम्मान गरेको हो।

जिल्ला प्रशासन कार्यालयले राष्ट्रले सुुम्पेको जिम्मेवारी कार्य कुशलता, स्वच्छ, निष्पक्ष रूपमा स्थानीय तह निर्वाचन सम्पन्न गर्ने सबै राष्ट्रसेवकमध्येबाट उत्कृष्ट ठहरिएका कर्मचारीलाई सम्मान गरिएको जनाएको छ।

यसरी निर्वाचनमा मतदान केन्द्रदेखि सबै तह र तप्कामा खटिएर उत्कृष्ट काम सम्पन्न गर्ने कर्मचारीलाई पहिलो पटक स्थानीय प्रशासनले प्रशंसापत्र प्रदान गरेर पहिलो पटक सम्मान गरेको हो।

सम्मानित हुनेमा ३६ जना कर्मचारी छन्। उनीहरूमा कार्यालय सहयोगीदेखि सुरक्षाकर्मी, मतदान अधिकृत, निर्वाचन अधिकृत, जिल्लामा खटिने कमान्ड पोस्ट्का कर्मचारी छन्। उनीहरूलाई मुख्य निर्वाचन अधिकृत जगतबहादुुर पौडेल र प्रमुख जिल्ला अधिकारी सीता परियारले प्रमाणपत्र प्रदान गरेर सम्मान गरेका थिए।

सो कार्यक्रममा मुख्य निर्वाचन अधिकृत पौडेलले असहज परिस्थितिमा पनि निर्भयका साथ आफ्नो जिम्मेवारी पूरा गर्ने कर्मचारीलगायत सबैलाई धन्यावद दिए।

जिल्लाभरि निर्वाचन स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न भएको भन्दै उनले यसमा सबै कर्मचारीको महत्वपूर्ण भूमिका रहेको बताए।

कार्यक्रममा प्रमुख जिल्ला अधिकरीले निर्वाचनमा खटिने कर्मचारी प्रोत्साहन गर्नका लागि पनि जिल्लामा नयाँ कार्यक्रमको थालनी गरिएको बताइन्।

उनले यसबाट कर्मचारीमा निर्वाचनमा खटिँदा पनि मूल्यांकन हुन्छ भन्ने भावना जागृत गराउन पनि यो कार्यक्रम गरिएको बताइन्।

समग्रमा हुुम्लामा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि चार वटा मतदान केन्द्रमा केही विवाद हुँदा सुरक्षाकर्मीले हवाई फायर गर्नुपरेको थियो भने एक जना खटिएका कार्यालय सहयोग घाइते भएर हेलिकोप्टरबाट उद्धार गर्नुपरेको थियो।


तपाईको प्रतिक्रिया