सल्यानमा हिउँदे आलु उत्पादनमा वृद्धि

सल्यान – सल्यानमा हिउँदे आलु उत्पादनमा वृद्धि आएको छ। आलुखेतीका लागि यो वर्ष मौसम उपयुक्त हुनुका साथै कृषि विकास कार्यालयबाट उन्नत बीउ वितरणपछि यो वर्ष हिउँदे आलु उत्पादनमा वृद्धि आएको हो।

कृषि विकास कार्यालय सल्यानका अनुसार चालु आर्थिक वर्ष २०७८।०७९ मा गत वर्षको तुलनामा १ हजार ५३२ मेट्रिक टन आलु बढी उत्पादन भएको छ। यो वर्ष १ हजार ७२० हेक्टर क्षेत्रफलमा आलुखेती गरिएकोमा १९ हजार ७६० मेट्रिक टन उत्पादन भएको छ।

जिल्लाका सबै पालिकामा कृषक, कृषि समूहले व्यावसायिक आलुखेती गर्दै आइरहेको कार्यालयका सूचना अधिकारी रेशमकुमार बस्नेतले जानकारी दिए। किसानका लागि आलुखेती प्रवर्धन कार्यक्रममार्फत अनुदानमा आलुको बीउ वितरण, आलु उत्पादन सम्बन्धी तालिम, आलुमा लाग्ने रोग किरा सम्बन्धी जानकारी र रोकथामका उपाय लगायतका कार्यक्रम गर्दै आएको बस्नेतको भनाइ छ।

गत आर्थिक वर्ष २०७७।०७८ मा १८ हजार २२८ मेट्रिक टन आलु उत्पादन भएको थियो। गत वर्ष ८।४० प्रतिशत उत्पादकत्व रहेकोमा यो वर्ष बढेर ११।४९ प्रतिशत रहेको कार्यालयले जनाएको छ।

गत वर्ष वर्षे आलु २८ हजार १६० मेट्रिक टन उत्पादन भएको थियो। जिल्लामा हिउँदेभन्दा वर्षे आलु बढी मात्रामा खेती हुने गर्दछ। हिउँदे आलु पानीको सिँचाइ हुने ठाउँमा मात्र लगाउने गरेको पाइन्छ।


तपाईको प्रतिक्रिया