
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा खानेपानीको अभाब बढेकोले ९६ घण्टामा मात्र पानी आउने भएको छ ।
खानेपानीको ब्यवस्थापन गर्दै आइरहेको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले अत्याधिक रुपमा बढ्दै गएको खडेरीका कारण खानेपानीका मुहानहरु सुक्दै गएकाले वीरेन्द्रनगरमा खानेपानीको चरम समस्या भएकोे बताएको छ ।
संस्थाले वीरेन्द्रनगरमा खानेपानीको समस्या समाधान गर्न नसकीरहेकोमा उपभोक्ताहरु समक्ष क्षमायाचना गर्दैै बुधरबार पत्रकार सम्मेलन गरि एक प्रेस विज्ञप्ति समेत जारी गरेको छ ।
संस्थाद्धारा सञ्चालन ब्यवस्थापन गरिरहेको खानेपानी सेवा हाल भैरहेको लामो खडेरीको कारण प्रभावित भएको संस्थाका अध्यक्ष कुलमणी देबकोटाले बताए ।

संस्थाले प्रयोगमा ल्याएका खानेपानीका श्रोतहरुको क्षमतामा हाल ४७ प्रतिशतले कमी आएकाले दैनिक रुपमा नियमित खानेपानी सेवा प्रबाह गराउन समस्या भएको उनको भनाई रहेको छ ।
हाल सुर्खेत उपत्यमा दैनिक रुपमा नियमित खानेपानी आपुर्ति गर्नकोलागि १७८.५ लिटर खानेपानी आवश्यक पर्दछ ।
अहिलेको समयमा झुप्रा खोलाबाट प्रतिसेकेण्ड ४० लिटर, खरीखोला बोरीखोलाबाट ३० लिटर, इत्राम खोलाबाट ८ लिटर, खोर्के खोलाबाट ४ लिटर र बुलबुले काठकुवाबाट २ लिटर गरि जम्मा प्रतिसेकेण्ड ८४ लिटर मात्रै पानी उपलब्ध हुने भएको कारण वीरेन्द्रनगरमा नियमित रुपमा खानेपानी उपलब्ध गराउन नसकिएको संस्थाका अध्यक्ष कुलमणी देबकोटाले जानकारी दिए ।
उनका अननुसार लामो समयसम्म भएको चरम खडेरीका कारण खानेपानीका मुहानहरु दिनहुँ सुक्दै गएको र खानेपानीको माग दिनहुँ बढ्दै गएकाले वीरेन्द्रनगरमा खानेपानीको सहजै आपुर्ति हुन नसकेको हाे ।



दर्शन खबर । १५ जेष्ठ २०७६, बुधबार