तालिबान सरकारको कडा निर्देशनपछि अफगानिस्तानका महिला पत्रकारले मुख छोप्न थाले

काबुल । अफगानिस्तानमा आइतबारदेखि टेलिभिजन च्यानलहरूमा महिला प्रस्तोताहरूले अनुहार छोप्न थालेका छन् । तालिबान सरकारको आदेशपछि उनीहरूले टेलिभिजन पर्दामा देखिँदा बुर्का लगाउन थालेका हुन् ।

एकदिन अघिसम्म सरकारी आदेशको अवज्ञा गर्दै उनीहरू टेलिभिजनमा ‘अनएयर’ भइरहेका थिए ।

एकजना कार्यक्रम प्रस्तोताले भनेकी छन्, हामीहरूले आदेशको प्रतिवाद गर्दै आइरहेका थियौँ । तर टेलिभिजन मालिकहरूमाथि दबाब दिइन थालियो ।

गत वर्ष अमेरिकी फौजले अफगान भूमि छाडेपछि तालिबानले सजिलैसँग सत्ता कब्जा गरेको थियो । पछिल्ला केही सातायता तालिबानले महिलाहरूमाथि विभिन्न प्रतिबन्धको घोषणा गर्दै आएको छ । लोकप्रिय च्यानलहरू, जस्तै टोलो न्युज, अरियाना टेलिभिजन, सम्साद टेलिभिजन र १ टीभीमा महिला पत्रकारहरूले मुख छोप्ने बुर्का र हिजाब लगाएर समाचार वाचन गर्न र अन्य कार्यक्रम चलाउन थालेका छन् ।

टोलो न्युज प्रस्तोता फरिदा सियाल भन्छिन्, ठिक छ, हामी मुस्लिम हौँ, हामीले केश लुकाउन हिजाब लगाइरहेका छौँ, तर लगातार दुई तीन घन्टा यसरी अनुहार छोपेर कुरा गर्न निकै गाह्रो छ ।

उनी यो नियम बदल्नका लागि सरकारमाथि अन्तर्राष्ट्रिय दबाब परोस् भन्ने चाहन्छिन् ।


तपाईको प्रतिक्रिया